काठमाडौं । साना किसानले उत्पादन गरेको दूधलाई बजार सुनिश्चित गर्ने उद्देश्यले नेपाल कृषि सहकारी केन्द्रीय संघ, साना किसान विकास लघुवित्त वित्तीय संस्था र दुग्ध विकास संस्थान (डिडिसी)बीच भएको दैनिक ६० हजार लिटरभन्दा बढी दूध खरिद–बिक्री गर्ने त्रिपक्षीय सम्झौता कार्यान्वयनमा आएको छ।

गत साउन २७ गते भएको सम्झौताअनुसार भदौ १ देखि नै केन्द्रीय संघ र साना किसान विकास लघुवित्तका सदस्य संस्था तथा किसानले उत्पादन र संकलन गरेको दूध डिडिसीमार्फत बजारीकरण गर्न सुरु गरिएको हो।

नेपाल कृषि सहकारी केन्द्रीय संघका अध्यक्ष एकराज उप्रेतीका अनुसार सम्झौता कार्यान्वयनको पहिलो दिनमै १५ हजार लिटरभन्दा बढी दूध डिडिसीलाई उपलब्ध गराइएको छ।

ADVERTISEMENT

मकवानपुरको हाँडीखोलास्थित साना किसान कृषि सहकारी संस्थामा ३ हजार लिटर क्षमताको चिस्यान केन्द्र सञ्चालनमा ल्याउँदै दूध संकलन सुरु गरिएको उनले जानकारी दिए। आगामी दिनमा देशभरका साना किसानको दैनिक ६० हजार लिटरभन्दा बढी दूध डिडिसीमार्फत बजारीकरण गर्ने लक्ष्य रहेको छ।

ADVERTISEMENT

सम्झौतामार्फत ग्रामीण क्षेत्रमा उत्पादन हुने दूधलाई बजारसम्म पुर्‍याउनुका साथै किसानको दूध संकलन र बिक्री वितरणमा सहजीकरण गर्ने लक्ष्य राखिएको छ।

ADVERTISEMENT

अध्यक्ष उप्रेतीका अनुसार पहिलो दिनमै किसान तथा संस्थाहरूको उत्साहजनक सहभागिता देखिएको छ। यसअघि सञ्जालमा आबद्ध नभएका संस्थाहरूले समेत अभियानमा जोडिन इच्छा देखाएको उनले बताए।

सम्झौताले नेपाली दुग्ध उत्पादक किसानका लागि महत्वपूर्ण उपलब्धि हासिल गरेको उल्लेख गर्दै उप्रेतीले किसानको जीवनस्तर उकास्न डिडिसीले देखाएको सक्रियताले किसानमा उत्साह थपिएको बताए।

सम्झौताअनुसार आगामी दिनमा दूध उत्पादन र उत्पादकत्व वृद्धि, गुणस्तरीय उत्पादन, पशुजन्य रोग तथा संक्रमणबाट बच्ने तालिम र आवश्यक प्राविधिक सेवा पनि किसानलाई उपलब्ध गराइनेछ।

डिडिसीले तत्कालका लागि दूध संकलन केन्द्रमा चिस्यान सुविधा नभएका स्थानमा चिस्यान केन्द्र तथा आवश्यक उपकरण उपलब्ध गराउने कामसमेत अघि बढाएको छ।

गत साउन २७ गते भएको सम्झौतामा डिडिसीका महाप्रबन्धक डा. शरणकुमार पाण्डे, नेपाल कृषि सहकारी केन्द्रीय संघका महाप्रबन्धक डा. रुद्रबहादुर श्रेष्ठ र साना किसान विकास लघुवित्तका प्रमुख कार्यकारी अधिकृत बासु अधिकारीले हस्ताक्षर गरेका थिए।