काठमाडौं । सम्भावित बाढीको जोखिम तथा सडक निर्माण कार्यका कारण काभ्रेपलाञ्चोक–सिन्धुलीस्थित बीपी राजमार्ग र हुम्लाको हिल्सा–सिमकोट सडकखण्डमा सवारी आवागमन बन्द गरिएको छ।

प्रहरी प्रधान कार्यालयले सूचना जारी गर्दै काभ्रेपलाञ्चोकको खुर्कोट–नेपालथोक–कटुन्जेबेँसी हुँदै सिन्धुली जाने बीपी राजमार्गमा सम्भावित बाढीको जोखिमलाई मध्यनजर गर्दै सवारी सञ्चालन रोकिएको जनाएको हो।

ADVERTISEMENT

प्रहरीका अनुसार २०८३ वैशाख २१ गते साँझ ५ बजेदेखि बिहान ५ बजेसम्म उक्त सडकखण्डमा सञ्चालन हुने सम्पूर्ण सवारीसाधन अर्को आदेश नभएसम्मका लागि बन्द गरिएको छ।

यसैगरी, हुम्लाको नाम्खा गाउँपालिका–२ स्थित च्यादुक क्षेत्रमा सडक विस्तारको काम भइरहेका कारण हिल्सा–सिमकोट सडकखण्डमा पनि यातायात सञ्चालन रोकिएको प्रहरीले जनाएको छ।

च्यादुक होटेलदेखि च्याछरासम्म सडक खन्ने क्रममा माथिबाट ढुंगा तथा माटो खस्ने जोखिम बढेकाले वैशाख २९ गतेदेखि जेठ २ गतेसम्म उक्त सडकखण्डमा सवारी आवागमन पूर्ण रूपमा बन्द गरिएको हो।

प्रहरीले यात्रु तथा सवारी चालकलाई वैकल्पिक मार्ग प्रयोग गर्न तथा आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ।