काठमाडौं। मध्यपूर्वमा जारी युद्धका कारण इन्धन, निर्माण सामग्री, ढुवानी तथा श्रमिक लागतमा पटक–पटक भइरहेको अत्यधिक एवं अप्रत्याशित मूल्यवृद्धिको समस्या सम्बोधन गर्न सरकार गम्भीर नबनेपछि नेपाल निर्माण व्यवसायी महासंघ आन्दोलनमा उत्रिएको छ।
मूल्यवृद्धिका कारण निर्माण कार्य सञ्चालन गर्न कठिनाइ भएको र आगामी दिनमा निर्माण कार्य नै बन्द हुने अवस्था सिर्जना हुन सक्ने भन्दै महासंघले बिहीबार सडक विभाग तथा ऊर्जा, जलस्रोत तथा सिँचाइ विभागका महानिर्देशकलाई ज्ञापनपत्र बुझाउने तथा सम्बन्धित विभागमा धर्ना दिने कार्यक्रम तय गरेको छ।
महासंघका महासचिव शिवहरि घिमिरे का अनुसार आन्दोलनको कार्यक्रमअनुसार शुक्रबार र आगामी सोमबार शहरी विकास तथा भवन निर्माण विभाग र खानेपानी तथा ढल व्यवस्थापन विभागका महानिर्देशकको कार्यालयमा ज्ञापनपत्र बुझाएर आधा घण्टा धर्ना दिइनेछ।
उनका अनुसार महासंघमा आबद्ध ७७ वटै जिल्ला निर्माण व्यवसायी संघले बिहीबार प्रमुख जिल्ला अधिकारीसमक्ष जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र बुझाउँदै आधा घण्टा धर्ना दिनेछन्।त्यसैगरी, जिल्ला संघहरूले शुक्रबार र आगामी सोमबार जिल्लास्थित पूर्वाधार विकास कार्यालय, डिभिजन सडक कार्यालय, शहरी विकास तथा भवन कार्यालय तथा सिँचाइ कार्यालयहरूमा पनि ज्ञापनपत्र बुझाएर धर्ना दिने कार्यक्रम तय गरेका छन्।
महासंघका नीतिगत उपमहासचिव एवं प्रवक्ता मंगलबहादुर शाही का अनुसार सातै प्रदेश निर्माण व्यवसायी महासंघले शुक्रबार सम्बन्धित मुख्यमन्त्रीलाई ज्ञापनपत्र बुझाउँदै मुख्यमन्त्री कार्यालयमा आधा घण्टा धर्ना दिनेछन्।
महासंघले निर्माण क्षेत्रमा देखिएको मूल्यवृद्धिको समस्या तत्काल सम्बोधन गर्न तथा निर्माण व्यवसायीहरूको मागप्रति सरकार संवेदनशील बन्न आग्रह गरेको छ।










