काठमाडौं। नेपाल आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत मंगलबार भएको खेलमा स्कटल्याण्डसँग डीएलएस प्रणालीका आधारमा दुई रनले पराजित भएको छ।कीर्तिपुरस्थित टियु ग्राउण्डमा भएको खेलमा स्कटल्यान्डले दिएको २४४ रनको लक्ष्य पछ्याइरहेको नेपाल वर्षाका कारण संशोधित लक्ष्यअनुसार ३९ ओभरमा २२१ रन बनाउनुपर्ने अवस्थामा २१८ रनमै समेटियो।
नेपालका लागि गुल्सन झाले ६१ रनको विस्फोटक अर्धशतकीय पारी खेले। उनले ३५ बलमा दुई चौका र पाँच छक्का प्रहार गर्दै अन्तिमसम्म अविजित रहे।उपकप्तान दिपेन्द्र सिंह ऐरीले ५५ रन बनाउँदै दोस्रो अर्धशतक पूरा गरे। उनले ४९ बलमा पाँच चौका र एक छक्का प्रहार गरे।कप्तान रोहित पौडेलले ३२ रन बनाए भने आशिफ शेखले २१, करण केसीले १८ र विनोद भण्डारीले १० रनको योगदान दिए।
नेपाललाई सस्तैमा रोक्न स्कटल्यान्डका ब्राड करीले तीन विकेट लिए। मार्क वाटले दुई विकेट लिए भने ओलिभर डेविडसन र ज्याक ग्रेभ्सले समान एक–एक विकेट हात पारे।यसअघि टस जितेर ब्याटिङ रोजेको स्कटल्यान्डले निर्धारित ५० ओभरमा आठ विकेट गुमाउँदै २४३ रन बनाएको थियो।स्कटल्यान्डका जर्ज मुन्सेले ७५ रनको शानदार अर्धशतक बनाए। उनले ६२ बलमा १२ चौका र दुई छक्का प्रहार गरे।फिन्ले म्याककिएथले ३५, माइकल इंग्लिसले अविजित ३४, माइकल लिस्कले २९ तथा मार्क वाटले २४ रनको योगदान दिए।
नेपालका लागि सन्दिप लामिछानेले उत्कृष्ट बलिङ गर्दै चार विकेट लिए। उनले १० ओभरमा एक मेडन राख्दै ४१ रन खर्चिए। करण केसी र नन्दन यादवले समान दुई–दुई विकेट लिए।यस जितसँगै स्कटल्यान्डले २९ खेलबाट ३६ अंक जोड्दै तालिकाको दोस्रो स्थानमा आफ्नो पकड बलियो बनाएको छ।
हारसँगै नेपाल भने २५ खेलबाट १८ अंकसहित सातौं स्थानमा सीमित भएको छ। यो हारसँगै नेपालको शीर्ष चारमा पुग्ने सम्भावना थप कठिन बनेको छ।









