काठमाडौं । आईसीसी विश्वकप लिग–२ अन्तर्गत नेदरल्यान्ड्स र नामिबियाविरुद्धको शृंखलामा नेपाल चारै खेलमा पराजित भएपछि त्यसको प्रभाव नेपाली खेलाडीहरूको एकदिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) वरीयतामा पनि परेको छ।
अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)ले सार्वजनिक गरेको नयाँ ओडीआई वरीयताअनुसार स्पिनर सन्दीप लामिछानेको बलिङ वरीयता १३ स्थान खस्किएको छ। उनी ३२औँबाट ४५औँ स्थानमा पुगेका छन्।
बलिङतर्फ भने करण केसी, ललित राजवंशी र दीपेन्द्रसिंह ऐरीको वरीयतामा सुधार भएको छ। ललित दुई स्थान उक्लँदै ४६औँ, दीपेन्द्र १० स्थान सुधार गर्दै ६९औँ स्थानमा पुगेका छन्।
ब्याटिङतर्फ आसिफ शेख दुई स्थान तल झर्दै ७८औँमा पुगेका छन् भने ओपनर कुशल भुर्तेल शीर्ष १०० भित्र अटाउन सकेनन्। दीपेन्द्रसिंह ऐरी सात स्थान सुधार गर्दै ८८औँ तथा गुलशन झा पाँच स्थान उक्लँदै ९७औँ स्थानमा पुगेका छन्। गुलशन पहिलोपटक शीर्ष १०० भित्र प्रवेश गर्न सफल भएका छन्।
अलराउन्डरतर्फ सन्दीप ५९औँबाट ७२औँ स्थानमा झरेका छन्। दीपेन्द्र तीन स्थान सुधार गर्दै १८औँमा पुगेका छन् भने करण केसी ६ स्थान उक्लँदै ८२औँ, गुलशन झा ७४औँ र सोमपाल कामी ९७औँ स्थानमा पुगेका छन्।
ललित राजवंशी भने चार स्थान तल झर्दै ६९औँमा पुगेका छन्।





