काठमाडौं । अमेरिका र इरानबीचको तनाव फेरि चर्किएको छ । अमेरिकाले इरानका सैन्य ठेगानामाथि पुनः बमबारी गरेको जनाएको छ भने इरानले यसलाई युद्धविराम उल्लंघनको संज्ञा दिएको छ।

अमेरिकाले स्ट्रेट अफ होर्मुज क्षेत्रमा आफ्ना जहाजमाथि इरानी सैन्य बलले आक्रमण गरेपछि आत्मरक्षाका लागि जवाफी कारबाही गरिएको जनाएको छ। अमेरिकी सेन्ट्रल कमाण्डका अनुसार अमेरिकी नौसेनाको टोली ओमानको खाडीतर्फ अघि बढिरहेका बेला इरानले मिसाइल, ड्रोन तथा साना डुंगामार्फत आक्रमण गरेको थियो।

यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधबार साँझ इरानसँगको युद्ध चाँडै अन्त्य हुने दाबी गरेका थिए। तर त्यसको केही समयमै पुनः सैन्य आक्रमण भएको समाचार सार्वजनिक भएको हो।

उता इरानले भने होर्मुज जलडमरूमध्यतर्फ गइरहेको आफ्नो तेल ट्यांकरमाथि अमेरिकाले आक्रमण गरेपछि आफूले जवाफी मिसाइल प्रहार गरेको जनाएको छ।

इरानको सरकारी प्रसारण संस्था आईआरआईबीले अमेरिकाले युद्धविराम तोडेको आरोप लगाएको छ। इरानी सैन्य नेतृत्वले आफ्ना सशस्त्र बलले तत्काल जवाफी कारबाही गर्दै अमेरिकी पक्षलाई ठूलो क्षति पुर्‍याएको दाबी गरेको छ।

इरानी नौसेनाले ‘शक्तिशाली विस्फोटक वारहेड’ प्रयोग गरी हमला गरिएको र अमेरिकी जहाजहरू क्षेत्रबाट तीव्र गतिमा हटेको दाबी पनि गरेको छ। यद्यपि अमेरिकी पक्षले क्षतिको विवरण सार्वजनिक गरेको छैन।

यसबीच अमेरिकी राष्ट्रपति ट्रम्पले बिहीबार पत्रकारहरूसँग कुरा गर्दै अमेरिका र इरानबीच वार्ता जारी रहेको बताएका छन्। उनले गोलीबारी भए पनि युद्धविराम अझै कायम रहेको दाबी गरे।

ट्रम्पले इरानलाई कुनै पनि अवस्थामा परमाणु हतियार राख्न नदिने अमेरिकी नीति दोहोर्‍याउँदै इरान त्यसमा सहमत भइसकेको बताए। उनले सम्झौतामा हस्ताक्षर नभए इरानले ‘ठूलो मूल्य चुकाउनुपर्ने’ चेतावनी पनि दिए।

पाकिस्तानमा दुई देशका उच्च अधिकारीबीच भएको वार्तापछि केही समयका लागि तनाव कम भएको संकेत देखिए पनि पछिल्ला सैन्य गतिविधिले सम्भावित शान्ति सम्झौतामाथि प्रश्न उठाएको छ।

स्ट्रेट अफ होर्मुज विश्वको महत्वपूर्ण समुद्री व्यापारिक मार्गमध्ये एक हो। विश्वभर तेल तथा ग्यास आपूर्तिको ठूलो हिस्सा यही मार्ग हुँदै हुने भएकाले यहाँको तनावले अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्यसमेत प्रभावित भएको छ।

गत महिना ट्रम्प प्रशासनले इरानी बन्दरगाहहरूको नाकाबन्दी सुरु गरेको थियो। अमेरिकाले इरानको तेल निर्यातबाट हुने आम्दानी सीमित गरी दबाब सिर्जना गर्ने रणनीति अपनाएको जनाएको छ।

अमेरिकी सेन्ट्रल कमाण्डका अनुसार ‘प्रोजेक्ट फ्रीडम’ अन्तर्गत अमेरिकी डिस्ट्रोयरहरू होर्मुज जलडमरूमध्य पार गरिरहेका छन्। उक्त अभियानको उद्देश्य समुद्री व्यापारिक मार्ग सुरक्षित राख्नु रहेको अमेरिकाको दाबी छ।