काठमाडौं । हाल देशभर सामान्यदेखि पूर्ण बदलीको अवस्था रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार शुक्रबार बिहान कोसी प्रदेशका थोरै स्थान तथा बागमती र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षा भइरहेको छ।

महाशाखाले शुक्रबार बिहान ८ बजे जारी गरेको मौसम प्रक्षेपणअनुसार दिउँसो कोसी, मधेस, बागमती र गण्डकी प्रदेशसहित देशका हिमाली तथा पहाडी भूभागमा सामान्यदेखि पूर्ण बदली रहनेछ भने बाँकी तराई क्षेत्रमा आंशिक बदली रहने सम्भावना छ।

ADVERTISEMENT

कोसी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभागका धेरै स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षा हुने अनुमान गरिएको छ। साथै मधेस प्रदेशसहित अन्य प्रदेशका हिमाली तथा पहाडी भूभागका केही स्थान तथा बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराईका थोरै स्थानमा पनि वर्षा हुने सम्भावना रहेको छ।

सुदूरपश्चिम प्रदेशको तराई क्षेत्रमा भने एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको मौसमविद्ले बताएका छन्।

महाशाखाका अनुसार रातिको समयमा पनि हिमाली र पहाडी भूभागमा सामान्य बदली रहनेछ भने तराई क्षेत्रमा आंशिक बदली रहनेछ। कोसी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी क्षेत्रका थोरै स्थानमा मध्यम वर्षा तथा बाँकी हिमाली भूभागका एक-दुई स्थानमा हल्का वर्षा वा हिमपात हुन सक्ने अनुमान गरिएको छ।

यसैबीच मौसम पूर्वानुमान महाशाखाले काठमाडौं उपत्यकामा पनि शुक्रबार मध्यम वर्षाको सम्भावना रहेको जनाएको छ।

वर्षाको मापन कसरी गरिन्छ?

मौसमविद्का अनुसार २४ घण्टाभित्र १० मिलिमिटरभन्दा कम पानी परेमा हल्का वर्षा मानिन्छ। १० मिलिमिटरभन्दा बढी तर ५० मिलिमिटरभन्दा कम पानी परेमा मध्यम वर्षा तथा ५० देखि १०० मिलिमिटरसम्म वर्षा भएमा भारी वर्षा भनिन्छ।

त्यस्तै १०० देखि २०० मिलिमिटरसम्म पानी परेमा धेरै भारी वर्षा तथा २०० मिलिमिटरभन्दा बढी पानी परेमा अति भारी वर्षा भएको मानिने मौसमविद्ले बताएका छन्।

‘थोरै’, ‘केही’ र ‘धेरै’ स्थान भन्नाले के बुझिन्छ?

मौसमविद्का अनुसार ‘एक-दुई स्थान’मा वर्षा हुने सम्भावना भन्नाले १० प्रतिशतभन्दा कम भूभागमा पानी पर्ने अनुमान हो।

१० देखि ३० प्रतिशत भूभागमा पानी पर्ने सम्भावना हुँदा ‘थोरै स्थान’, ३० देखि ५० प्रतिशत भूभागमा वर्षा हुने सम्भावना हुँदा ‘केही स्थान’ तथा ५० देखि ८० प्रतिशत भूभागमा पानी पर्ने सम्भावना हुँदा ‘धेरै स्थान’मा वर्षा हुने भनिन्छ।

८० प्रतिशतभन्दा बढी भूभागमा पानी पर्ने सम्भावना भएमा मौसमविद्ले ‘अधिकांश स्थान’मा वर्षा हुने सम्भावना रहेको उल्लेख गर्ने गर्छन्।