काठमाडौं काठमाडौंको कीर्तिपुरमा दिउँसै युवकको हत्या गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ।जिल्ला प्रहरी परिसर काठमाडौंले बिहीबार पक्राउ परेका तीन जनाको विवरण सार्वजनिक गर्दै उनीहरूमाथि कर्तव्य ज्यानको कसुरमा अनुसन्धान अघि बढाइएको जनाएको छ।

परिसरका एसपी पवनकुमार भट्टराईका अनुसार पक्राउ पर्नेहरूमा अछामको साँफेबगर नगरपालिका–४ घर भई कीर्तिपुर नगरपालिका–९ भाजंगल बस्ने २५ वर्षीय महेन्द्र शाह, कैलालीको बर्दगोरिया गाउँपालिका–४ घर भई कीर्तिपुर पाँगा दोबाटो बस्ने २३ वर्षीय रवीन्द्र धामी तथा कैलालीकै घोडाघोडी नगरपालिका–१ घर भई कीर्तिपुर नगरपालिका–८ सिनेमा हल बस्ने २२ वर्षीय रोशन बिष्ट रहेका छन्।

ADVERTISEMENT

उनीहरूले बुधबार दिउँसो करिब २ः३० बजे कीर्तिपुर नगरपालिका–१० पोडेटोलमा गुल्मीको धुर्कोट नगरपालिका–७ घर भई कीर्तिपुर ढल्पा बस्दै आएका २२ वर्षीय विपिन घिमिरेमाथि धारिलो हतियार प्रहार गरी हत्या गरेको आरोप छ।

घटनापछि प्रहरी वृत्त कीर्तिपुरबाट खटिएको टोलीले तीनै जनालाई पक्राउ गरेको हो।प्रहरीले पक्राउ परेकाहरूविरुद्ध काठमाडौं जिल्ला अदालतबाट सात दिनको म्याद थप अनुमति लिएर कर्तव्य ज्यान मुद्दामा थप अनुसन्धान गरिरहेको जनाएको छ।

हत्या हुनुको कारण र घटनाको विस्तृत विवरणबारे प्रहरीले अनुसन्धान जारी राखेको छ।