काठमाडौं । रास्वपा सांसद एवं पूर्वसञ्चारमन्त्री जगदीश खरेलले आफूमाथि मिडिया ट्रायल भएको भन्दै आपत्ति जनाएका छन् । उनले केही सञ्चारमाध्यम र सामाजिक सञ्जालमा आफ्नो नाम जोडेर ‘फेक न्युज’ फैलाइएको दाबीसमेत गरेका छन् । तर के विषयमा आफ्नो नाममा ‘फेक न्युज’ फैलाइएको हो भन्ने खुलाएका छैनन् ।

लिडरसिप सम्मेलनमा सहभागी हुन हाल स्विटजरल्यान्डमा रहेका खरेलले उतैबाट सामाजिक सञ्जाल फेसबुकमा आफूविरुद्ध भइरहेका प्रचारको बारेमा स्पष्ट पार्ने प्रयास गरेका हुन् । खरेलले भ्रामक, नियोजित तथा कपोल्कल्पित प्रहारले आफ्नो चरित्र र राजनीतिक भविष्यमाथि प्रहार गर्छु भनेर कसैले नसोचे पनि हुने भन्दै चुनौती दिएका छन् ।

ADVERTISEMENT

‘अहिले ममाथि मिडिया ट्रायल भएको छ । केही सञ्चारमाध्यम तथा सामाजिक सञ्जालमा मेरो नाम जोडेर नियोजित रूपमा ‘फेक न्युज’ फैलाइएको छ । कृपया भ्रममा नपर्नु होला ।
अहिले म कार्यक्रमको सिलसिलामा स्विजरल्याण्डमा छु । गल्ती गरेको छैन । त्यसैले अलिकति पनि डर छैन । सोधे हुन्छ, खोजे हुन्छ, तर सत्य सत्य नै हुन्छ । मेरो इमान नै मेरो गन्तब्यको लागि प्रयाप्त छ । यस्ता भ्रामक, नियोजित तथा कपोल्कल्पित प्रहारले मेरो चरित्र र राजनीतिक भविष्यमाथी प्रहार गर्छु भनेर नसोचे हुन्छ । बाँकी कानूनी उपचार खोज्ने छु,’ खरेलले भनेका छन् ।

एक सातायता पूर्वसञ्चारमन्त्री खरेलको नाम ३० अर्बको स्मार्ट टेलिकम प्रकरणमा जोडिएर आएको छ । स्मार्ट टेलिकमका तत्कालीन सिइओ सर्वेश जोशीसँग मिलेर खरेलले अर्बौ रुपैयाँ घोटाला गरेको आरोप लगाइएको छ । कुनै पनि विदेशी कम्पनीले नेपालमा योजना सञ्चालन गरे वा कम्पनी खोले २५ वर्षपछि नेपाल सरकारको पूर्ण स्वामित्वमा जान्छ । कुनै कम्पनी सञ्चालन हुन नसकेर बीचमै बन्द भएमा त्यो पनि सरकारी स्वामित्वमा जान्छ ।

ADVERTISEMENT

तर स्मार्ट टेलिकमको अर्बौको भौतिक संरचना र राज्यको स्वामित्वमा नआउने गरी जोशीले खरेल सञ्चारमन्त्री हुँदा खेलोफड्को गरेको आशंका गरिएको छ । जोशीलाई सिआईबीले विश्वासघात र ठगी कसुरमा पक्राउ गरिसकेको छ ।