अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रंपले इरानसँग जारी तनाव चाँडै समाधान हुनसक्ने संकेत दिएका छन्, तर यदि इरान सहमतिमा नआए अहिले भएको भन्दा भिषण बमबारी सहित सैन्य आक्रमण अझ तीव्र बनाइने चेतावनी पनि दिएका छन्। उनले आफ्नो सामाजिक सञ्जाल मार्फत इरानले शान्ति प्रस्ताव स्वीकार गरे युद्ध अन्त्य हुने र स्ट्रेट अफ हर्मुज सबै देशका लागि खुला रहने बताएका छन्।

अमेरिका र इरानबीच करिब दुई महिनादेखि जारी तनाव अन्त्यका लागि कूटनीतिक प्रयास तीव्र बनेका छन्। अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार वाशिङ्टन तेहरानबाट मुख्य बुँदाहरूको जवाफको प्रतिक्षामा रहेको छ र त्यसकै आधारमा छोटो सम्झौता दस्तावेज बनाउने तयारी भइरहेको छ। यो दस्तावेज नै सम्भावित पूर्ण शान्ति सम्झौताको प्रारम्भिक आधार बन्न सक्ने बताइएको छ।

प्रस्तावित सहमतिअनुसार इरानले आफ्नो आणविक कार्यक्रमअन्तर्गत युरेनियम समृद्धिका कार्यक्रमहरु अस्थायी रूपमा रोक्ने, अमेरिकाले इरानमाथि लगाइएका केही आर्थिक प्रतिबन्ध हटाउने र दुवै पक्षले हर्मुज क्षेत्रमा जहाज आवतजावतमा लगाइएका नियन्त्रणहरू हटाउने विषय समावेश हुन सक्छन्। यी बुँदाहरू अन्तिम सहमतिमा पुग्ने सर्तमा मात्र युद्धबिराम कार्यान्वयनमा जाने बताइएको छ।

युद्ध अन्त्यको सम्भावनाले विश्व बजारमा सकारात्मक संकेत देखिएको छ। कच्चा तेलको मूल्यमा तीव्र गिरावट आएको छ भने अमेरिकी सेयर बजारका फ्युचर्स, युरोपेली सेयर बजार र विश्वव्यापी सरकारी ऋणपत्रमा मूल्य वृद्धि देखिएको छ। होर्मुज जलडमरूमध्य विश्व ऊर्जा आपूर्तिको प्रमुख मार्ग भएकाले यसको निर्वाध संचालनले विश्व अर्थतन्त्रमा ठूलो प्रभाव पार्ने मानिन्छ।

तर जमिनमा अवस्था अझै पूर्ण रूपमा शान्त भएको छैन। हालै इरानले होर्मुज क्षेत्रमा अमेरिकी सहयोगमा सञ्चालन भइरहेका व्यावसायिक जहाजहरू नजिक आक्रमण गरेको आरोप लागेको छ भने संयुक्त अरब इमिरेट्सतर्फ पनि आक्रमण प्रयास भएको बताइएको छ। यसको जवाफमा अमेरिकाले केही इरानी साना डुंगाहरू डुबाएको जनाएको छ।

युद्धविराम अप्रिल ७ देखि लागू भए पनि स्थिति अझै संवेदनशील छ र सानो घटनाले पनि पुनः ठूलो संघर्ष निम्त्याउन सक्ने जोखिम कायम छ। यसबीच, ट्रम्पले ‘प्रोजेक्ट फ्रिडम’ नाम दिइएको अमेरिकी सैन्य अभियानलाई अस्थायी रूपमा रोकिएको बताएका छन्, जसको उद्देश्य होर्मुज क्षेत्रबाट त्यहाँ रोकिएका जहाजहरूलाइ सुरक्षित रूपमा बाहिर निकाल्नु थियो। यो कदम शान्ति सम्झौता अन्तिम चरणमा पुग्ने आशामा चालिएको मानिएको छ।

दुवै पक्षबीच अन्तिम सहमति हुने विषय अझै स्पष्ट नभए पनि पछिल्ला कूटनीतिक गतिविधि र सार्वजनिक अभिव्यक्तिहरूले युद्ध अन्त्यतर्फको सम्भावना बलियो बनेको संकेत दिएका छन्।