काठमाडौं । साताको चौथो कारोबारको दिन बुधबार सेयर बजारमा उच्च गिरावट आएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ४७ अंकले घटेर २९५४.१४ बिन्दुमा झरेको छ ।
गएको वर्ष साउन ३१ गते ३०००.८१ को बिन्दुसम्म पुगेको बजार त्यसयता उतारचढावमा देखिएकोमा हिजो मंगलबार ३००२.०८ बिन्दुमा पुगेको थियो। मंगलबार बजार ३०.७६ अंकले बढेर ३००२.०८ बिन्दुमा पुगेको बजार बुधबार घटेको हो।
आज २३ कम्पनीको मूल्य बढ्दा २२६ कम्पनीको मूल्य घटेको छ। ३२७ कम्पनीको तीन करोड कित्ता सेयर किनबेच हुँदा १६ अर्ब ४४ करोड रुपैयाँ बढीको कारोबार भएको छ । जसमध्ये सबैभन्दा धेरै हिमालयन रिइन्स्योरेन्सको एक अर्ब ३१ करोड रुपैयाँ बराबरको कारोबार भएको छ ।
हिमालयन डिस्टिलरीको ७२ करोड, शिवम सिमेन्टको ५७ करोड, ग्रीन भेन्चरको ५६ करोड र नेपाल रिइन्स्योरेन्सको ५४ करोड रुपैयाँ बराबरको कारोबार भएको छ ।
आज दुई कम्पनीको मूल्यमा सकारात्मक सर्किट लागेको छ । सान्भी इनर्जी र ट्रेड टावरको सेयर मूल्यमा १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ ।





