काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले स्ट्रेट अफ होर्मुज मध्यबाट व्यावसायिक जहाजलाई सुरक्षित रूपमा बाहिर निकाल्ने अमेरिकी सैन्य अभियान ‘प्रोजेक्ट फ्रिडम’ अस्थायी रूपमा स्थगित गरिएको घोषणा गरेका छन्।ट्रम्पले मंगलबार सामाजिक सञ्जालमार्फत इरानसँग “पूर्ण र अन्तिम सम्झौता” तर्फ महत्वपूर्ण प्रगति भएको उल्लेख गर्दै अभियान केही समयका लागि रोकिएको बताएका हुन्।

उनले सम्झौता अन्तिम रूप दिएर हस्ताक्षर हुने सम्भावना परीक्षण गर्न अभियान स्थगित गरिएको जनाएका छन्। ट्रम्पको घोषणापछि अन्तर्राष्ट्रिय शेयर बजारमा सकारात्मक प्रभाव देखिएको छ। यसले अमेरिका–इजरायल र इरानबीचको तनाव कम हुने तथा विश्व व्यापारका लागि अत्यन्त महत्वपूर्ण स्ट्रेट अफ होर्मुज मध्य पुनः खुल्ने अपेक्षा बढाएको छ।

यसअघि अमेरिकी प्रशासनले ‘प्रोजेक्ट फ्रिडम’लाई हजारौं नागरिक जलयात्रीको जीवनरक्षासँग जोडिएको संवेदनशील अभियानका रूपमा चित्रण गरेको थियो। अमेरिकी प्रशासनका अनुसार इरानले स्ट्रेट अफ होर्मुज मध्यमा गरेको अवरोधका कारण ८७ देशका जहाजमा रहेका करिब २३ हजार जलयात्री प्रभावित भएका छन्।

ADVERTISEMENT

अमेरिकी विदेशमन्त्री मार्को रुबियोले व्हाइट हाउसमा आयोजित पत्रकार सम्मेलनमा जलयात्रीहरू जोखिमपूर्ण अवस्थामा रहेको बताएका थिए। उनका अनुसार कम्तीमा १० जना जलयात्रीको मृत्यु भइसकेको दाबी गरिएको छ।

ADVERTISEMENT

अमेरिकी सेनाको केन्द्रीय कमान्ड (सेन्टकम) ले अभियानका लागि गाइडेड मिसाइल डिस्ट्रोयर, १०० भन्दा बढी स्थल तथा समुद्री विमान, बहुआयामिक ड्रोन प्रणाली र १५ हजार सैनिक परिचालन गरिएको जनाएको थियो।

ADVERTISEMENT

यता, इरानसँग जोडिएको क्षेत्रीय तनाव अझै कायम छ। संयुक्त अरब इमिरेट्सले सोमबार आफूहरूमाथि ब्यालेस्टिक मिसाइल, क्रुज मिसाइल र ड्रोन आक्रमण भएको जनाएको छ, जसमा तीन जना घाइते भएका छन्।

 स्ट्रेट अफ होर्मुज मध्य हुँदै विश्वको ठूलो परिमाणमा तेल आपूर्ति हुने भएकाले यहाँको अस्थिरताले अन्तर्राष्ट्रिय ऊर्जा बजार र विश्व अर्थतन्त्रमा प्रत्यक्ष असर पार्ने विश्लेषण गरिएको छ।