काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस आन्तरिक किचलोले थला परेको छ । गत पुसमा विशेष महाधिवेशनबाट गगन थापा नेतृत्वको कार्यसमिति आएपछि कांग्रेस आन्तरिक किचलोले थला परेको हो ।
विशेष महाधिवेशनपछि कांग्रेसमा गगन–विश्वप्रकाश, शेरबहादुर देउवा–पूर्णबहादुर खड्का र शेखर कोइराला समूह गरी तीनवटा धार देखिएको छ । देउवा–खड्का समूहलाई कृष्ण सिटौला, विमलेन्द्र निधि, प्रकाशमान सिंह, विजयकुमार गच्छदार, प्रकाशशरण महत जस्ता विगतमा कांग्रेसमा हालीमुहाली गरेकाले साथ दिएका छन् ।
शेखर समूह पहिलेदेखि नै अलग छ । त्यो समूहका शशांक र सुजाता कोइराला कहिले देउवा–खड्का समूहको भेला र बैठकमा सहभागी हुने गरेका छन् ।
पछिल्लो समय गगन–विश्वप्रकाशलाई कमजोर तुल्याउन देउवा–खड्का समूहले आफ्नो पक्षका भ्रातृसंगठनका अध्यक्षलाई पदबाट राजीनामा दिन लगाएको छ । यसैक्रममा नेपाल दलित संघका अध्यक्ष लोकबहादुर विश्वकर्माले राजीनामा दिएका छन् । उनले सोमबार सभापति गगनकुमार थापासमक्ष राजीनामा बुझाएका हुन् ।
अध्यक्ष विश्वकर्माले आफ्नो पारिवारिक र शारिरिक समस्याका कारण पदमा रहेर जिम्मेवारी पूरा गर्न असमर्थ रहेकाले राजीनामा दिनुपरेको राजीनामा पत्रमा उल्लेख गरेका छन् । निवर्तमान सभापति देउवाले विश्वकर्मालाई २०८० मा दलित संघको केन्द्रीय अध्यक्षमा नियुक्त गरेका थिए । लोकबहादुर पूर्णबहादुर खड्का निकट नेता हुन् ।
यसअघि तरुण दलका केन्द्रीय अध्यक्ष विद्वान गुरुङले पदबाट राजीनामा दिएका थिए । उनले पार्टी सभापति थापालाई सम्बोधन गरी पत्र लेखेर राजीनामा बुझाएका हुन् । उनी ०७८ फागुन ९ गते तरुण दलको अध्यक्ष मनोनीत भएका थिए ।
‘पार्टी निर्माणको अभियानमा सहज बातावरण बनोस् भन्ने विश्वासका साथ मैले नेपाल तरुण दलको अध्यक्ष पदबाट राजीनामा दिएको छु’ उनले भनेका छन् । उनले आफ्नो कार्यकालमा सहयोग पुर्याउने सबैलाई धन्यवाद दिँदै यो बीचमा राजनीतिक घटनाक्रमका कारण तरुण दलको अधिवेशन गराउन नसकेको पनि बताएका छन् ।
केही दिनमै नेविसंघ र महिला संघका अध्यक्षले पनि पदबाट राजीनामा दिने बुझिएको छ । देउवा–खड्का समूह अब कांग्रेसमा बस्न नसकिने निष्कर्षका साथ नयाँ पार्टी गठनको तयारीमा जुटेको नेताहरुले बताएका छन् । सोही कारण देउवा समूहका नेताहरूले कांग्रेस क्रियाशील सदस्यता अद्यावधिक नगर्ने निर्णय गरेका हुन् ।









