काठमाडौं । सरकारले देशभरका अतिक्रमित सरकारी तथा सार्वजनिक जग्गामा बनेका संरचना हटाउन ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिएको छ।गृह मन्त्रालयले देशभरका प्रमुख जिल्ला अधिकारीहरूलाई परिपत्र जारी गर्दै सम्बन्धित निकायसँग समन्वय गरी जिल्लाभित्र रहेका अतिक्रमित सरकारी तथा सार्वजनिक जग्गाको पहिचान गर्न तथा त्यस्ता जग्गामा बनेका संरचना हटाउने योजना तयार गरी मन्त्रालयमा पठाउन निर्देशन दिएको हो।

मन्त्रालयले अतिक्रमण हटाउने कार्य प्रभावकारी बनाउन सम्बन्धित स्थानीय तह, सुरक्षा निकाय तथा सरोकारवाला संस्थासँग आवश्यक सहयोग र समन्वय गर्नसमेत आग्रह गरेको छ।यसअघि चैत २० गते नै गृह मन्त्रालयले यससम्बन्धी प्रारम्भिक परिपत्र जारी गरेको थियो। पछिल्लो पटक बुधबार सचिवस्तरीय निर्णयमार्फत अतिक्रमण हटाउने कार्यलाई थप तीव्रता दिन सुरक्षा प्रबन्धलगायत आवश्यक सहजीकरण गर्न सबै जिल्ला प्रशासन कार्यालयलाई अनुरोध गरिएको हो।

सरकारले पछिल्लो समय अतिक्रमित संरचना हटाउने अभियानलाई तीव्रता दिइरहेको छ। सोही अभियानअन्तर्गत शुक्रबारदेखि काठमाडौं उपत्यकाका नदी किनारमा निर्माण गरिएका अतिक्रमित संरचना हटाउने कार्य सुरु गरिने भएको छ।

यसका लागि बिहीबार काठमाडौंका विभिन्न नदी किनार क्षेत्रहरूमा माइकिङमार्फत सूचना प्रवाह गरिएको छ। सम्बन्धित क्षेत्रमा बसोबास गर्ने तथा संरचना निर्माण गरेका व्यक्तिहरूलाई स्वेच्छिक रूपमा संरचना हटाउन आग्रह गरिएको छ।