सप्तरी । सप्तरीको राजविराजस्थित भूमि प्रशासन कार्यालय (मालपोत) परिसरमा अतिक्रमण गरी लेखापढी व्यवसायीले निर्माण गरेका घर तथा अन्य संरचना हटाइएको छ ।
प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापाको उपस्थितिमा आइतबार साँझ राजविराज नगरपालिकाका नगरप्रहरी र डोजर परिचालन गरी कार्यालय परिसरभित्र निर्माण गरिएका अवैध संरचना हटाइएको हो ।
संरचना हटाइएसँगै कार्यालयभित्र हुने बिचौलियाको पहुँच नियन्त्रणमा आउने अपेक्षा गरिएको प्रमुख जिल्ला अधिकारी थापाले बताए ।
यसअघि भूमि प्रशासन कार्यालयले पटकपटक सूचना जारी गर्दै परिसरभित्र सञ्चालनमा रहेका लेखापढी व्यवसाय तथा विभिन्न सङ्घसंस्थाका कार्यालय बन्द गर्न आग्रह गरेको थियो । तर, लेखापढी व्यवसायीले परिसर खाली गर्न अटेर गर्दै आएका थिए ।
यसैबीच, राजविराज नगरपालिकाले अड्डा लाइनसहित नगर क्षेत्रका अतिक्रमित फुटपाथ खाली गराउने अभियानलाई पनि तीव्रता दिएको छ ।
कार्यवाहक नगरप्रमुख इसरत परविणका अनुसार फुटपाथ खाली गर्न पटकपटक सूचना जारी गर्दा पनि अटेर गरिएपछि नगरप्रहरी र डोजर परिचालन गरी अतिक्रमित संरचना हटाउन थालिएको हो ।
नगरपालिकाले सार्वजनिक सडक तथा फुटपाथलाई अतिक्रमणमुक्त बनाउने अभियानलाई निरन्तरता दिने जनाएको छ ।












