काठमाडौं । नेपाल प्रहरीले देशका विभिन्न जिल्लाबाट लागुऔषधसहित १८ जनालाई पक्राउ गरेको छ। नियमित गस्ती तथा विशेष निगरानीका क्रममा उनीहरूलाई विभिन्न प्रकारका लागुऔषधसहित नियन्त्रणमा लिइएको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ।

प्रहरीका अनुसार झापाको अर्जुनधारा नगरपालिका–११ चियाबगान क्षेत्रबाट खैरो हेरोइनसहित पाँच जनालाई पक्राउ गरिएको छ।त्यसैगरी, पाँचथरको फिदिम नगरपालिका–१ शनिबारेबाट दुई जना, सुनसरीको कोशी गाउँपालिका–१ लौकहीबाट तीन जना तथा धरान उपमहानगरपालिका–११ बाट एक जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

ADVERTISEMENT

भक्तपुरको मध्यपुरथिमि नगरपालिका–१ मनोहराबाट थप दुई जनालाई नियन्त्रणमा लिइएको छ।प्रहरीले पक्राउ परेकामध्ये केही व्यक्तिबाट चिकित्सकको सिफारिसबिना खरिद गर्न नपाइने प्रतिबन्धित औषधि, नगद रकम तथा लागुऔषध जोख्न प्रयोग हुने डिजिटल तराजु समेत बरामद गरेको जनाएको छ।

यसैगरी, बाँकेको कोहलपुर नगरपालिका–१० चडिण्डका टोलबाट एक जना, कास्कीको पोखरा महानगरपालिका–२५ याम्दीबाट एक जना तथा बाराको सिम्रौनगढ नगरपालिका–३ भट्टीवैरियाबाट दुई जनालाई पक्राउ गरिएको छ।

ADVERTISEMENT

नेपालगन्ज उपमहानगरपालिका–१३ लालापुरबाट पनि एक जनालाई लागुऔषधसहित नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार सबै पक्राउ परेका व्यक्ति बुधबार नियन्त्रणमा लिइएका हुन्। उनीहरूविरुद्ध लागुऔषध नियन्त्रण ऐनअन्तर्गत थप अनुसन्धान भइरहेको छ।

प्रहरीले लागुऔषध नियन्त्रण अभियानलाई थप सशक्त बनाउँदै विभिन्न स्थानमा निगरानी र चेकजाँच तीव्र पारिएको जनाएको छ।