काठमाडौं।अर्थतन्त्र संकुचित हुँदा मुुलुकमा अटोबजारको क्षेत्र सुस्त रहेको भनिएपनि यस क्षेत्रमा बैंकिङ क्षेत्रको एक खर्ब ३९ अर्ब ७६ करोड ४० लाख रुपैंयाँ कर्जा प्रवाह भएको देखिएको छ ।

नेपाल राष्ट्र बैंकका सहायक प्रवक्ता सुमन न्यौपानेका अनुसार चालु आर्थिक बर्षको फागुन मसान्तसम्ममा लघुवित्त वित्तीय संस्था बाहेकका सबै किसिमका बैंक तथा वित्तीय संस्थाहरुले हायर पर्चेज क्षेत्रमा मात्र उक्त परिमाणमा कर्जा प्रवाह गरेका हुन । यो कर्जा गत आवको सोही अवधिको तुलनामा नौं अर्ब ८१ करोड ५० लाख रुपैंयाँले बढी हो । सहायक प्रवक्ता न्यौपानेका अनुसार गत आवको सोही अवधिमा सञ्चालनमा रहेका २० वटा बाणिज्य बैंक, क्षेत्रिय र राष्ट्रियस्तरका समेत गरी १७ वटा बिकास बैंक र १७ वटा फाईनान्स कम्पनी सहितका ५४ वटा संस्थाहरुले हायर पर्चेज क्षेत्रमा मात्र कुल एक खर्ब २९ अर्ब ९४ करोड ९० लाख रुपैंयाँ कर्जा प्रवाह गरेका थिए ।

बाणिज्य बैंकहरुले मात्र चालु आवको फागुन मसान्तसम्ममा हायर पर्चेज क्षेत्रमा कुल एक खर्ब २४ हजार ९६ करोड ६० लाख रुपैंयाँ कर्जा प्रवाह गरेको उनको भनाई छ । यो कर्जा गत आवको सोही अवधिको तुलनामा ११ अर्ब ५३ करोड ५० लाख रुपैंयाँले बढी हो । गत आवको सोही अवधिमा बाणिज्य बैंकहरुले हायर पर्चेज क्षेत्रमा मात्र कुल एक खर्ब १३ अर्ब ४३ करोड १० लाख रुपैंयाँ बराबरको कर्जा प्रवाह गरेका थिए । सहायक प्रवक्ता न्यौपानेका अनुसार बिकास बैंकहरुले पनि चालु आवको फागुन मसान्तसम्ममा ११ अर्ब २६ करोड ५० लाख रुपैंयाँ बराबरको कर्जा प्रवाह गरेका छन् । यो कर्जा गत आवको सोही अवधिको तुलनामा एक अर्ब ९५ करोड रुपैंयाँले कम हो । गत आवको सोही अवधिमा बिकास बैंकहरुले हायर पर्चेज क्षेत्रमा प्रवाह गरेको कुल कर्जा रकम १३ अर्ब २१ करोड ५० लाख रुपैंयाँ रहेको थियो ।

सहायक प्रवक्ता न्यौपानेका अनुसार फाईनान्स कम्पनीहरुले पनि चालु आवको फागुन मसान्तसम्ममा हायर पर्चेज क्षेत्रमा मात्र कुल तीन अर्ब ५३ करोड ३० लाख रुपैंयाँ बराबरको कर्जा प्रवाह गरेका छन् । यो कर्जा गत आवको सोही अवधिको तुलनामा २३ करोड रुपैंयाँले बढी हो । गत आवको सोही अवधिमा फाईनान्स कम्पनीहरुले हायर पर्चेज क्षेत्रमा मात्र प्रवाह गरेको कुल कर्जा रकम तीन अर्ब ३० करोड ३० लाख रुपैंयाँ रहेको सहायक प्रवक्ता न्यौपानेको भनाई छ ।

के हो हायर पर्चेज कर्जा भनेको ?
हायर पर्चेज कर्जा भनेको यस्तो किसिमको कर्जा हो जसमा कुनै पनि ग्राहकहरुले बैंक तथा फाईनान्स कम्पनीहरुसंग कर्जा लिएर मोटरसाइकल, कार, फ्रिज, टिभी लगायतका सामानहरु तुरुन्तै प्रयोग गर्न पाउने छन् । तर त्यसको पूरा मूल्य मासिक किस्ताबन्दीमा तिर्दै जानु पर्ने हुन्छ ।
यसको लागि ग्राहकले सुरुमा केही रकम डाउन पेमेन्ट गर्नुपर्छ । बाँकी रकम बैंक वा फाइनान्स कम्पनीले तिरिदिन्छ । तर हायर पर्चेज लोन लिने ग्राहकले नियमितरुपमा मासिक किस्ता रकम भने सम्वन्धित बैंक तथा फाईनान्स कम्पनीहरुलाई तिर्नुपर्छ । यसरी सबै किस्ता तिरेपछि मात्र सामानको पूर्ण स्वामित्व ग्राहकको हुन्छ ।

बैंकिङ क्षेत्रले हायर पर्चेज क्षेत्रमा गरेको ऋण लगानी (रकम रु १० लाखमा)

(श्रोतः नेपाल राष्ट्र बैंक)