काठमाडौं । साताको तेस्रो कारोबार दिन बुधबार नेप्से अंक घटेर बन्द भएको छ। पछिल्लो तीन कारोबार दिनदेखि नेप्से परिसूचक घट्ने क्रम जारी छ ।

नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक २.९५ अंक घटेर २८०४.१७ विन्दुमा झरेको छ। दिनभर नेप्से निकै उतारचढाव रह्यो । कारोबार समयमा ३२ अंकसम्म घटेको थियो । तर बन्द हुने बेला सामान्य घटेको छ ।

ADVERTISEMENT

१३ उपसमूहमध्ये पाँच उपसमूहको परिसूचक बढेको छ । आठ उपसमूहको परिसूचक घटेको छ। बैंकिङ, वित्त, लगानी, उत्पादन तथा प्रशोधन र निर्जीवन बीमा उपसमूहको परिसूचक सामान्य बढेको छ। कारोबारमा आएको होटल तथा पर्यटन उपसमूहको परिसूचक यस दिन सर्वाधिक २.३६ प्रतिशत घटेको छ।

नेप्से घटे पनि कारोबार रकम भने बढेको छ। बुधबार ३४२ स्टकको एक लाख २१ हजार ४३३ पटकको कारोबारमा सात अर्ब ८१ करोड ३९ लाख ४७ हजार रुपैयाँबराबरको एक करोड ७५ लाख ८८ हजार कित्ता सेयर खरिदबिक्री भएको छ। मंगलबार पाँच अर्ब ७७ करोड रुपैयाँबराबरको सेयर खरिदबिक्री भएको थियो ।

ADVERTISEMENT

आज नेसनल हाइड्रोपावर कम्पनीको ४१ करोड ३४ लाख रुपैयाँबराबरको सेयर कारोबार भएको छ। रिलायन्स स्पिनिङ मिल्सको साढे ३२ करोड र सोलु हाइड्रोपावरको कारोबार रकम साढे ३१ करोड रुपैयाँ नाघेको छ।

बुधबार तीन स्टकको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। पाल्पा सिमेन्ट, सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिक र शिखर पावर डेभलपमेन्टको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो। झापा इनर्जीको सेयरमूल्य १४ प्रतिशत र गणपति लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य ९ प्रतिशत बढेको छ।