काठमाडौं । रवि लामिछाने लाई सांसदका रूपमा काम गर्न रोक लगाउनुपर्ने मागसहित सर्वोच्च अदालत मा रिट निवेदन पेस गरिएको छ।
अधिवक्ता आयुष बडाललगायतले दायर गरेको उक्त निवेदनमा लामिछानेविरुद्ध सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दा विचाराधीन रहेकाले उनी स्वतः निलम्बनको अवस्थामा रहने जिकिर गरिएको छ। सोही आधारमा उनलाई सांसदका रूपमा कामकाज गर्न नदिन आदेश जारी गर्न माग गरिएको छ।
तीन दिनअघि दर्ताका लागि पेस गरिएको रिट निवेदन अझै औपचारिक रूपमा दर्ता भएको छैन। नियमअनुसार दर्ता नहुने भए दरपीठ आदेश दिनुपर्ने भए पनि हालसम्म त्यस्तो आदेशसमेत जारी भएको छैन।
सर्वोच्च अदालत प्रशासन स्रोतका अनुसार निवेदनमाथि माथिल्लो तहमा जानकारी गराउनुपर्ने भन्दै हाललाई ‘होल्ड’ मा राखिएको छ।
यसअघि अघिल्लो सरकारले पूर्वगृहमन्त्री लामिछानेविरुद्धको सम्पत्ति शुद्धीकरण तथा संगठित अपराधसम्बन्धी अभियोगमा संशोधन गरेको थियो। उक्त संशोधनविरुद्ध परेको अर्को रिट हाल सर्वोच्च अदालतकै पूर्ण इजलासमा विचाराधीन छ।
उक्त मुद्दाको पेशी आगामी बिहीबारका लागि तोकिएको छ।







