बर्दिया, कात्तिक २२ – बर्दिया सदरमुकाम गुलरिया र बारबर्दिया नगरपालिका जोड्ने बबई नदीको जब्दिघाट पुल भत्किएको वर्षौं बितिसक्दा पनि पुनर्निर्माण सुरु हुन सकेको छैन। २०७४ साउन २८ गते पहिलो पटक पुल भासिएको र २०७८ असोजमा आएको बाढीले बीचको स्पान बगाएपछि अहिले त्यहाँबाट सवारीसाधनको आवागमन ठप्प छ।
१६ करोड ६८ लाख ४ हजार रुपैयाँ लागतमा निर्माण भएको उक्त पुल उद्घाटन नहुँदै भासिएको हो। निर्माण कम्पनी पप्पु कन्ट्रक्सनले डिजाइन अनुसार काम नगरेको र प्राविधिक मापदण्ड पालना नगरेको प्राविधिक अध्ययनहरूले देखाएका छन्। सडक विभाग अन्तर्गत पुल निर्माण शाखाले गरेको अध्ययनमा कम्पनीले गम्भीर लापरबाही गरेको उल्लेख गरिएको छ।

पुल्चोक इन्जिनियरिङ इन्स्टिच्युट अफ इन्जिनियरिङ्ग कन्सल्टेन्सी सर्भिसेजको प्रतिवेदनअनुसार पुल निर्माणमा जमीनमुनि १६ मिटरसम्म पाइल राख्नुपर्नेमा केवल ५ मिटरमै सीमित गरिएको पाइएको छ। यसै कारण पुलको भार वहन क्षमता अत्यन्त कमजोर भएको र हस्तान्तरण हुन नपाउँदै पूर्वी भाग भत्किएको उल्लेख गरिएको छ।
पुल भासिएपछि गुलरिया–बारबर्दिया आवागमन पूर्ण रूपमा अवरुद्ध बनेको छ। अहिले बबई नदी पार गर्न स्थानीयहरूले डुंगा र स्टिमरको सहारा लिन बाध्य छन्। स्टिमरमार्फत नदी पार गर्दा एक जनाले १० रुपैयाँ, साइकलको लागि १० र मोटरसाइकलको लागि १५ रुपैयाँ तिर्नुपर्ने व्यवस्था छ। त्यस्तै, खसी–बोका पार गर्दा पनि १० रुपैयाँ शुल्क लिने गरिएको छ।
गुलरिया र बारबर्दिया नगरपालिकाले संयुक्त रूपमा स्टिमर सञ्चालनका लागि ठेक्का दिएका छन्। स्थानीयका अनुसार, दैनिक करिब दुई हजार मानिस यस घाटबाट आवतजावत गर्छन्। पुल भएको बेला १५ मिनेटमा पुगिने दूरी अहिले डुंगा प्रयोग गर्दा एक घण्टाभन्दा बढी लाग्ने गरेको छ।
स्थानीय माघु थारु चौधरीका अनुसार पुल भासिएपछि बिरामी, बालबालिका र वृद्धवृद्धा सबैभन्दा बढी समस्यामा परेका छन्। उनले भने, “स्टिमरसम्म पुग्नका लागि पनि बालुवाको बाटो हिँड्न २०–२५ मिनेट लाग्छ, मोटरसाइकल पनि धसिन्छ। यो पीडा वर्षौंदेखि झेल्दै आएका छौं।”

The Jabdighat bridge that connects Gulariya to Barbardiya was damaged during floods, Bardiya. Photo: Prakash Chandra Timilsena/Nepal Photo Library
पप्पु कन्ट्रक्सनले २०६८ असार २५ गतेदेखि पुल निर्माण सुरु गरेको थियो। तोकिएको समयभन्दा डेढ वर्ष ढिलो सम्पन्न भएको उक्त पुल निर्माणपछि हस्तान्तरण नहुँदै भासिएपछि सडक डिभिजन कार्यालय नेपालगन्जले २०७९ मंसिरमा ठेक्का सम्झौता तोडेको थियो।
२०७८ को बाढीपछिको क्षतिपछि पुनर्निर्माणको प्रतिबद्धता बारम्बार दोहोरिए पनि अहिलेसम्म नयाँ ठेक्का आह्वानसमेत भएको छैन।
यसैबीच, बर्दियाका सांसद तथा पूर्वमन्त्री सञ्जय गौतमले पुल पुनर्निर्माणको माग गर्दै २०८० वैशाख ३० गतेदेखि रिले अनशन सुरु गरेका थिए। मन्त्री प्रकाश ज्वालाले जेठ ३ गते पत्रकार सम्मेलन गर्दै “१० दिनभित्र नयाँ ठेक्का आह्वान गरिने” घोषणा गरेपछि गौतमले अनशन तोडेका थिए। तर, दुई वर्ष बितिसक्दा पनि सो घोषणा कागजमै सीमित भएको छ।
स्थानीयहरू भन्छन्, “मन्त्रीहरूको वाचा र इन्जिनियरहरूको प्रतिवेदन धेरै सुनेका छौं, तर पुल अझै देखिएको छैन।”
पुल पुनर्निर्माण नहुँदा गुलरिया–बारबर्दिया जोड्ने मुख्य सडकमार्ग अवरुद्ध रहेको छ, जसले बर्दियाको आर्थिक, सामाजिक र शैक्षिक जीवनमा गम्भीर असर पारेको छ।


शब्द तस्बिर : प्रकाश चन्द्र तिमिल्सेना नेपाल फोटो लाइब्रेरी ।







