काठमाडौं । चर्चित एमाले नेता गोकुल बास्कोटाले राष्ट्रिय स्वतन्त्र पार्टीमा अब ‘फाइनल हाइज्याक’ हुन बाँकी रहेको दाबी गरेका छन्।

प्रधानमन्त्री वालेन्द्र शाहनिकट भूपदेव शाहलाई रास्वपाको महामन्त्री बनाइएको भोलिपल्ट पूर्वसञ्चारमन्त्री बास्कोटाले सामाजिक सञ्जालमार्फत रास्वपालक्षित टिप्पणी गरेका हुन्। गृहमन्त्री सुधन गुरुङलाई गम्भीर आरोप लागिरहँदा पनि पार्टीभित्र कुनै छलफल नहुनुले रास्वपाको आलोचना भइरहेको छ ।

बास्कोटाले मंगलबार सामाजिक सञ्जालमा लेखेका छन्, ‘रास्वपामा अब फाइनल हाइज्याक हुन बाँकीजस्तो देखियो। यद्यपि त्यो उनीहरूको मामिला हो।’ उनले कुन कुरालाई लक्ष्य गरेका हुन् भन्ने कुनै स्पष्ट संकेत दिएका छैनन्।

यद्यपि गृहमन्त्री गुरुङका विषयमा पार्टीमा सामान्य छलफल नहुनुले धेरैलाई आशंका उब्जाएको छ । यस्तै निर्वाचनमा अछाममा पराजित भए पनि बालेन निकट भूपदेवलाई महामन्त्री बनाएकोमा धेरैलाई चित्त बुझेको छैन ।

सुधनमाथि जेनजी आन्दोलन हाइज्याक गरेको आरोप लागेको र अहिले उनका विषयमा पार्ठीमा छलफलसमेत नहुनुले रास्वपा सभापति रवि लामिछानेको नियन्त्रणमा नभएको अनुमान गर्न थालिएको छ । सुधनसँग कराेडाैंकाे अपारदर्शी सम्पत्ति देखिनु, बिचाैलिया दीपक भट्टसँग लगानी साझेदार देखिँदा पनि रास्वपाले प्रश्न साेध्न सकेकाे छैन ।