काठमाडौं । पूर्वश्रममन्त्री दीपक साहले आफूलाई तत्काल बर्खास्त गर्ने, तर गृहमन्त्री सुधन गुरुङलाई स्पष्टीकरण मात्र सोधेकामा असन्तुष्टि जनाएका छन् । साहले सामाजिक सञ्जालमार्फत आफ्नो असहमति सार्वजनिक गरेका हुन् ।

बिचौलिया दीपक भट्टसँग लगानी साझेदार देखिएको, आम्दानीको स्रोत नदेखिएको, ऋण लिएको उल्लेख नगरेको जस्ता विषय सार्वजनिक भएपछि गृहमन्त्री गुरुङ विवादमा तानिएका छन् । तर प्रधानमन्त्री वालेन्द्र शाह बालेनले सुधनसँग लिखित स्पष्टीकरण मात्र लिएका छन् । उनलाई बर्खास्त गरेका छैनन् ।

गृहमन्त्री गुरूङले आफूले ऋण लिएर सेयर खरिद गरेको भन्दै स्पष्टीकरण दिएका थिए। प्रधानमन्त्री बालेनको पनि यसबारे ध्यानाकर्षण भएको उनको सचिवालयले जानकारी दिएको छ।

गृहमन्त्री गुरूङको सचिवालयले पनि प्रधानमन्त्रीलाई यसबारे लिखित स्पष्टीकरण बुझाएको बताएको छ। सचिवालयका अनुसार गृहमन्त्री गुरूङले सोमबार साँझ ६ बजे लिखित स्पष्टीकरण बुझाएका हुन्।

यसअघि श्रीमती जुनु श्रेष्ठलाई स्वास्थ्य बिमा बोर्डमा पुनः नियुक्ति दिलाउन भूमिका खेलेको भन्दै प्रधानमन्त्री बालेनले तत्कालीन श्रममन्त्री साहलाई स्पष्टीकरणको मौकासमेत नदिई बर्खास्त गरेका थिए । जबकि त्यो विषयमा उनीसँग स्पष्टीकरण मात्र सोध्दा पनि हुने थियो । तर प्रधानमन्त्रीले तत्काल बर्खास्त गरे । साहले आफूलाई स्पष्टीकरणको कुनै मौकासमेत नदिइएको भन्दै गुनासो गर्दै आएका छन् ।

यत्रो आर्थिक र नैतिक प्रश्न उब्जिँदा पनि गृहमन्त्रीलाई प्रधानमन्त्रीले हटाउन नसक्नुमा शक्तिकेन्द्रको दबाब रहेको चर्चा सुरु भएको छ । धेरैले सुधन गुरुङलाई बार्बरा फाउन्डेसन र जंगी अड्डाको बलियो साथ रहेकाले उनलाई प्रधानमन्त्रीले चाहेर पनि हटाउन नसक्ने स्रोतले बतायो ।