काठमाडौं । प्रधानमन्त्रीले नियमावलीअनुसार प्रश्नोत्तर गर्नुपर्ने माग राख्दै विपक्षी दलहरुले सदन अवरोध गरेपछि १५ मिनेटलाई बैठक स्थगित गरेर प्रधानमन्त्री भेट्न पुगेका सभामुख खाली हात फर्किएका छन् ।

प्रधानमन्त्री वालेन्द्र शाहलाई भेट्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय गएका सभामुख डोलप्रसाद अर्याल रित्तो हात फर्किएका हुन्। शाहलाई अवस्थाको जानकारी दिँदै सदनमा उपस्थितिका लागि आग्रह गर्न गएका सभामुख अर्याल सकारात्मक जवाफ नपाएपछि खाली हात फर्किएका छन्।

ADVERTISEMENT

विपक्षी दलहरुले नियमावलीको नियम ५६ अनुसार महिनाको पहिलो हप्ता प्रश्नोत्तर गर्नुपर्ने माग राख्दै बिहीबार बसेको संसद् बैठक अवरोध गरेका हुन्। सरकारको नीति तथा कार्यक्रमको छलफल तथा जवाफमा समेत संसदमा उपस्थित नभएका प्रधानमन्त्री शाहले त्यसपछि सदन छल्दै आएका छन्।

विपक्षी दलहरुले आपत्ति जनाउँदै सभामुखको भूमिकामा समेत प्रश्न उठाएपछि अर्याल शाहलाई सदनमा उपस्थित हुन आग्रहका लागि पुगेका थिए । प्रधानमन्त्री शाहसँग केहीबेर कुराकानी गरेका अर्यालले ठोस जवाफ भने पाएनन् ।

ADVERTISEMENT

केही दिनयता श्रम संस्कृति पार्टीले प्रधानमन्त्री र मन्त्री सदनमा उपस्थित हुनै पर्ने भन्दै प्रदर्शन गर्दै आएको छ । बिहीबारको बैठकमा भने एमाले, राप्रपा, नेकपासहितका दलले पनि सदन अवरोध गरेपछि सभामुख अर्याल निरुत्तर भएका छन् । उनले प्रधानमन्त्रीलाई संसदमा उपस्थित हुन भनेर रुलिङ गर्न सकेका छैनन् ।