काठमाडौँ । सरकारले पठाएका आठवटै अध्यादेश जारी भएपछि प्रधानमन्त्री वालेन्द्र शाह संसद् अधिवेशन बोलाउने तयारीमा जुटेका छन् । त्यसका लागि उनले मंगलबार मन्त्रिपरिषद् बैठक बोलाएका छन् ।

प्रधानमन्त्रीका प्रेस विज्ञ दीपा दाहालका अनुसार मंगलबार दिउँसो ३ बजेका लागि प्रधानमन्त्री शाहले बैठक बोलाएका छन् । बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा बस्नेछ ।

ADVERTISEMENT

संसद् अधिवेशन आह्वानबारे निर्णयका निम्ति मन्त्रिपरिषद् बैठक बोलाइएको हो । तीन दिनभित्रै संसद् अधिवेशन बोलाउने तयारी छ । आह्वान गरिसकेको संसद् अधिवेशन रोकेर ल्याइएको आठवटै अध्यादेश राष्ट्रपतिबाट जारी भएलगत्तै मन्त्रिपरिषद् बैठक बोलाइएको हो ।

सोमबार विभिन्न दलका सचेतकहरूसँगको बैठकमा सभामुख डीपी अर्यालले मंगलबार मन्त्रिपरिषद्को बैठक बसेर संसद् अधिवेशन बोलाउनेसम्बन्धी निर्णय हुन सक्ने बताएका थिए ।

ADVERTISEMENT

संसद् अधिवेशन सरकारको सिफारिसमा राष्ट्रपतिले आह्वान गर्ने व्यवस्था छ । संसद् अधिवेशन यसअघि वैशाख १७ गते सुरु हुने गरी आह्वान गरिएको थियो । वैशाख ९ मा संसद् अधिवेशन आह्वानसम्बन्धी सूचना जारी गरिएको थियो । त्यसको भोलिपल्टै अधिवेशन स्थगनको सूचना सार्वजनिक गरिएको थियो ।

प्रधानमन्त्री बालेनले संसद् बैठक राख्न अध्यादेशको बार्गेनिङ गरेका थिए । जसमा उनी सफल भएका छन् । अब उनले आफूले ल्याएका अध्यादेशअनुसार फटाफट चाहेको निर्णय संसद्बाट गराउन सक्नेछन् ।