काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह बालेनले दोस्रोपटक संयुक्त रूपमा यूरोपेली देशका २३ वटा राजदूत र कूटनीतिज्ञहरूलाई भेट्ने भएका छन् ।
विदेशी राजदूतहरुलाई एक्लाएक्लै भेटने प्रथा तोडेर प्रशंसा बटुलेका बालेनले मंगलबार बिहान काठमाडौँमा जम्मा भएका यूरोपेली मुलुक सम्बद्ध राजदूतहरुलाई भेट्ने भएका हुन् । उनीहरू वार्षिक बैठकका लागि हाल काठमाडौंमा छन् ।
चैत १३ गते पदभार ग्रहण गरेपछि प्रधानमन्त्री शाहको विदेशी कूटनीतिज्ञ र राजदूतहरूसँगको यो दोस्रो भेट हो। यसअघि, परम्परा तोड्दै, उनले अप्रिल ८ मा काठमाडौंस्थित १७ राजदूतहरूसँग संयुक्त रूपमा छोटो भेटघाट गरेका थिए।
नेपालका लागि युरोपेली संघको प्रतिनिधिमण्डलले जारी गरेको विज्ञप्ति अनुसार भ्रमण गर्ने कूटनीतिक टोलीले प्रधानमन्त्रीसँगको भेटसहित नेपालको नेतृत्वसँग उच्चस्तरीय छलफल गर्नेछ। प्रधानमन्त्री कार्यालयका अनुसार मंगलबार बिहान १०ः३० बजे भेटवार्ता हुने तय भएको छ।
प्रतिनिधिमण्डलमा अस्ट्रिया, बेल्जियम, बुल्गेरिया, साइप्रस, चेक गणराज्य, डेनमार्क, इस्टोनिया, फिनल्याण्ड, फ्रान्स, जर्मनी, ग्रीस, इटाली, लिथुआनिया, लक्जमबर्ग, नेदरल्याण्ड्स, पोल्याण्ड, पोर्चुगल, रोमानिया, स्लोभाकिया, स्लोभेनिया, स्पेन र स्वीडेनका राजदूत र उपराजदूतहरू छन्।
ईयू राजदूत भेरोनिक लोरेन्जोको नेतृत्वमा नेपालका लागि युरोपेली संघको प्रतिनिधिमण्डल सोमबार र मंगलबार ईयू राजदूत र नियोग उपप्रमुखहरूको वार्षिक भेलाका लागि नेपालमा छ। यो भ्रमणको उद्देश्य प्रधानमन्त्री शाहको नेतृत्वमा रहेको नयाँ सरकारसँग प्रतिनिधिमण्डललाई परिचय गराउनु, नेपाल सम्बन्धलाई पुनः पुष्टि गर्नु र सहयोगका क्षेत्रहरू अन्वेषण गर्नु रहेको विज्ञप्तिमा जनाइएको छ।
यसअघि प्रधानमन्त्रीले अमेरिकी सहायक विदेशमन्त्री समीर पल कपुर र दक्षिण तथा मध्य एशियाका लागि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष दूत सर्जियो गोरलाई भेट्न अस्वीकार गरेका थिए। भेट्न अस्वीकार गरेपछि, भारतीय विदेश सचिव विक्रम मिश्रीको काठमाडौं भ्रमण पनि स्थगित गरिएको थियो।
प्रधामन्त्री बालेनसँग भेट्नुअघि सोमबार ईयू प्रतिनिधिमण्डलले परराष्ट्रमन्त्री शिशिर खनाल, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेल र शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलसँग वार्ता गर्ने कार्यक्रम छ।








