भक्तपुर। भक्तपुरमा आठ रात नौ दिनसम्म भव्य रूपमा मनाइने प्रसिद्ध बिस्केट जात्रा आज सम्पन्न हुँदैछ। गत चैत २७ गते तौमढीबाट भैरवको रथ तानेर सुरु भएको जात्रा आज अन्तिम चरणमा पुगेको हो।
जात्राअन्तर्गत आज अन्तिम दिन दिउँसो ४ः०० बजे गःहिटीबाट भैरवको रथ तानेर जात्रा सम्पन्न गरिने गुठी कार्यालय भक्तपुरका प्रमुख आनन्द कर्माचार्यले जानकारी दिए। उनका अनुसार अपराह्नसम्म आवश्यक सबै पूजा सम्पन्न गरिनेछ र त्यसपछि रथ तानेर जात्राको औपचारिक समापन गरिनेछ।
हालसम्म जात्रा शान्तिपूर्ण रूपमा सञ्चालन भएको जनाउँदै उनले आज रथ तान्ने क्रममा कुनै अप्रिय घटना नभए यस वर्षको जात्रा पूर्ण रूपमा शान्तिपूर्ण रूपमा सम्पन्न हुने बताए।
रथ तान्ने क्रममा तौमढी क्षेत्रबाट माथि र तल लैजाँदा झडप वा विवाद हुन सक्ने सम्भावनालाई ध्यानमा राख्दै जिल्ला प्रशासन कार्यालय भक्तपुरले आज विशेष सुरक्षा व्यवस्था गरेको छ। सम्भावित हूलदङ्गा नियन्त्रण गर्न करिब दुई हजार सुरक्षाकर्मी परिचालन गरिएको छ।
भक्तपुरका प्रमुख जिल्ला अधिकारी गेपालप्रसाद अर्यालले जात्रालाई शान्तिपूर्ण रूपमा सम्पन्न गराउन सुरक्षा व्यवस्था कडा पारिएको बताए। उनका अनुसार जात्रास्थलमा सिसी क्यामराबाट निरन्तर निगरानी भइरहेको छ भने सादा पोसाकका सुरक्षाकर्मीले समेत मोबाइल र श्रव्यदृश्य माध्यमबाट अनुगमन गरिरहेका छन्।
स्थानीयको परम्परागत सहभागितालाई ध्यानमा राख्दै सुरक्षाकर्मीलाई आवश्यकताअनुसार मात्रै अगाडि बढाइने व्यवस्था गरिएको जनाइएको छ।
जिल्ला प्रहरी परिसर भक्तपुरका प्रहरी उपरीक्षक सूर्यबहादुर खड्काले नेपाल प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान तथा नेपाली सेनासहितको संयुक्त सुरक्षा टोली खटाइएको जानकारी दिए। जात्रालाई भड्काउने, ढुङ्गा प्रहार गर्ने वा हूलदङ्गा गर्न खोज्ने व्यक्तिलाई नियन्त्रणमा लिएर कानुनी कारबाही गरिने चेतावनी पनि दिइएको छ।
यस वर्षको बिस्केट जात्रा शान्तिपूर्ण रूपमा सम्पन्न गराउन काठमाडौँबाट समेत थप सुरक्षाकर्मी परिचालन गरिएको छ।







