भक्तपुर। मध्यपुर ठिमीमा बिस्केट जात्राको अवसरमा मनाइने प्रसिद्ध सिन्दुर जात्रा यस वर्ष पनि हर्षोल्लासका साथ सम्पन्न भएको छ।३२ वटा खटसहित निकालिने यो जात्रा मध्यपुरथिमीको प्रमुख सांस्कृतिक पहिचानका रूपमा परिचित छ। मूल देवतालाई खटमा राखी धिमेबाजाको तालमा चिराग बाल्दै सिन्दुर जात्रा मनाइन्छ।

जात्रा प्रत्येक चोक, चौबाटो, घर र टोलमा पुग्दा स्थानीय बासिन्दाले झ्याल, कौसी र छतबाट सिन्दुर छर्ने तथा फूल वर्षाएर स्वागत गर्ने परम्परा रहेको छ।

ADVERTISEMENT

जात्राका क्रममा काँया बाजा, भुस्याबाजा र धिमेबाजा बजाउँदै देवताको खटलाई नगर परिक्रमा गराइन्छ। सहभागीहरूले एक अर्कालाई सिन्दुर दल्दै, छ्याप्दै र खेल्दै उत्सव मनाउने भएकाले यसलाई सिन्दुर जात्रा भनिएको हो।

विशेषगरी बालकुमारीको खटलाई विभिन्न क्षेत्रको परिक्रमा गराइन्छ। स्थानीय बासिन्दा सिन्दुर खेल्दै, नेवारी बाजाको तालमा नाच्दै र आपसी सौहार्द प्रकट गर्दै यो जात्रा मनाउने गर्छन्।

ADVERTISEMENT

यो जात्राले स्थानीय समुदायबीच एकता, सद्भाव र सांस्कृतिक पहिचानलाई अझ सुदृढ बनाउने विश्वास गरिएको छ।