भक्तपुर। नयाँ वर्ष २०८३ को अवसरमा बिस्केट जात्राले भक्तपुर र मध्यपुर थिमि क्षेत्र यतिबेला पूर्ण रूपमा रौनकले भरिएको छ। जात्रा अवलोकन गर्न भक्तपुरसहित काठमाडौं, ललितपुर, काभ्रे लगायत विभिन्न जिल्लाबाट हजारौँको भीड लागेको छ।

परम्परागत रूपमा तान्त्रिक विधिअनुसार मनाइने यो जात्रा नयाँ वर्षको पहिलो दिन बिहानैदेखि सुरु भएको हो। भक्तपुरको भेलुखेलस्थित ल्यासिंखेलमा चैत मसान्तको साँझ उठाइएको करिब पचपन्न हात लामो इन्द्रध्वजासहितको लिङ्गो हेर्न सर्वसाधारणको ठूलो घुइँचो लागेको छ। उक्त लिङ्गो दर्शन गर्दा शत्रु नाश हुने र सहकाल आउने जनविश्वास रहिआएको छ।

ADVERTISEMENT

आज दिनभर मेला लाग्ने र साँझ लिङ्गो ढाल्ने परम्परा रहेको छ। लिङ्गो जात्रा अवलोकन गर्दा मनोकामना पूरा हुने विश्वासका कारण श्रद्धालुहरूको उपस्थिति उल्लेख्य देखिएको छ।

ADVERTISEMENT

यसै अवसरमा भक्तपुरको दधिकोट र सिरुटारको सङ्गमस्थलस्थित चरखण्डी महादेव मन्दिरमा बिहानैदेखि दर्शनार्थीको भीड लागेको छ। मन्दिरको कुण्डमा स्नान गरी पूजा गर्दा रोग नाश हुने र सफलता प्राप्त हुने धार्मिक विश्वास रहेको संस्कृति अनुसन्धानकर्ता रत्न सायमीले जानकारी दिनुभयो।

किम्वदन्तीअनुसार चरखण्डीको पोखरीमा डुबेको भङ्गेरा पुनः जीवित भएको विश्वास गरिन्छ। यही मान्यताका कारण बिहान ४ बजेदेखि नै श्रद्धालुहरू कुण्डमा स्नान गर्न पुगेका छन्।

ADVERTISEMENT

चारखण्डी मेलाको अवसरमा मन्दिर परिसरमा युवाहरूले शरीरमा बत्ती बालेर बसेका छन्। यसो गर्दा पाप नष्ट भई पुण्य प्राप्त हुने विश्वास रहिआएको छ। साथै बिहानै तीनवटा खटसहितको खट जात्रा निकालिएको थियो।

यता सिरुटार र बालकोटका बासिन्दाले गुप्तेश्वर महादेव मन्दिरमा धिमे बाजासहित खट यात्रा गरी जात्रा मनाएका छन्। स्थानीय भाइकृष्ण श्रेष्ठका अनुसार खटलाई विभिन्न टोल परिक्रमा गराउँदै विधिपूर्वक पूजा गरिएको थियो।

दधिकोटको छुमा गणेश मन्दिरमा पनि बिहानैदेखि मेला लागेको छ भने गणेशको खट जात्रा निकालिएको छ। भक्तजनले पूजा गर्दै बलि चढाएर जात्रा मनाएका छन्।

यसैबीच मध्यपुर थिमिमा चैत मसान्तको साँझदेखि सुरु भएको चान्हेसिया अर्थात् रात्रि जात्रा आज बिहान सम्पन्न भएको छ। बालकुमारी मन्दिर केन्द्रित यस जात्रामा दिगुभैरव, तलेजु र बालकुमारीलाई विधिपूर्वक ल्याई परम्परागत शैलीमा जात्रा मनाइएको थियो।

जात्राका क्रममा थिमिका घरघरबाट चिराग बालेर धिमे बाजासहित दक्षिणबाराही, हरिसिद्धि र अजिमा देवतालाई समेत सहभागी गराइएको थियो। विभिन्न टोल परिक्रमा गरिसकेपछि खटलाई पुनः मन्दिरमा राखेर जात्रा सम्पन्न गरिएको हो।

त्यस्तै विष्णुवीर तथा सिद्धिकाली जात्रा पनि आजै सम्पन्न भएको छ। विभिन्न टोल परिक्रमा गराउँदै देवगणलाई बालकुमारी मन्दिरमा ल्याई पूजा गरेपछि पुनः आ–आफ्नो स्थानमा विराजमान गराइएको छ।

यस क्रममा विष्णुवीरलाई सुङ्गा टोलबाट पाङ्गु टोल लैजाँदा नेवारी परम्पराअनुसार ‘सिं बाजा’ बजाउने चलनसमेत कायम राखिएको छ।

अन्त्यमा विष्णुवीर, दक्षिणबाराही, बालकुमारीलगायत देवगणलाई सिन्दूर चढाएर आ–आफ्नो स्थानमा विराजमान गराएपछि आजको जात्रा विधिवत् विसर्जन गरिने परम्परा रहेको छ।