काठमाडौं।नयाँ वर्ष २०८३ को अवसर पारेर कामना सेवा विकास बैंक लिमिटेडले वित्तीय साक्षरता अभिवृद्धि गर्ने उद्देश्यसहित “वित्तीय साक्षरता कथा संग्रह” तथा सम्बन्धित भिडियो सामग्री सार्वजनिक गरेको छ।

उक्त कथा संग्रह बैंकका प्रमुख कार्यकारी अधिकृत दिनेश थकालीले एक कार्यक्रमबीच अनावरण अनावरण गरेका हुन् । बैंकले वित्तीय साक्षरता केवल सूचना दिने विषय नभई व्यवहार परिवर्तन गर्ने प्रक्रिया भएको उल्लेख गर्दै कथा र भिडियो सामग्रीले यसलाई अझ प्रभावकारी रूपमा जनमानससम्म पुर्‍याउने विश्वास व्यक्त गरेको छ।

बैंकका अनुसार कथा संग्रहमा दैनिक जीवनसँग प्रत्यक्ष सम्बन्धित वित्तीय निर्णय, बचतको महत्व, जिम्मेवार खर्च, बैंकिङ सेवाको प्रयोग तथा दीर्घकालीन आर्थिक योजना जस्ता विषयलाई सरल, रोचक र सन्देशमूलक शैलीमा प्रस्तुत गरिएको छ।

यो कथा संग्रह देशभरका विभिन्न विद्यालयहरूमा वितरण गरिनेछ, जसले विद्यार्थीहरूमा सानै उमेरदेखि वित्तीय अनुशासन, बचत गर्ने बानी तथा जिम्मेवार खर्च गर्ने संस्कार विकास गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ। साथै, बैंकले नयाँ खाता खोल्ने ग्राहकहरूलाई प्रोत्साहनस्वरूप खुत्रुकेसहित उक्त कथा संग्रह प्रदान गर्ने व्यवस्था पनि मिलाएको जनाएको छ।

यस अभियानअन्तर्गत कथा संग्रहलाई भिडियोको माध्यमबाट डिजिटल रूपान्तरण समेत गरिएको छ। भिडियो सामग्रीमा कथाका पात्रहरूलाई दृश्यात्मक रूपमा प्रस्तुत गर्दै वित्तीय सन्देशलाई अझ प्रभावकारी र आकर्षक बनाइएको बैंकले जनाएको छ। यी भिडियोहरू विशेषगरी बालबालिका, युवा तथा सामाजिक सञ्जाल प्रयोगकर्तालाई लक्षित गरिएका छन्।

बैंकका अनुसार सम्बन्धित भिडियो सामग्रीहरू प्रत्येक हप्तामा दुई दिन बैंकका आधिकारिक सामाजिक सञ्जालमार्फत सार्वजनिक गरिनेछ। वित्तीय साक्षरता आजको आवश्यकता भएको उल्लेख गर्दै बैंकले आगामी दिनमा यस्ता कार्यक्रमलाई थप विस्तार गर्दै लैजाने प्रतिबद्धता जनाएको छ।

यस अभियानमार्फत समुदायस्तरमै वित्तीय पहुँच विस्तार गर्दै जिम्मेवार बैंकिङ अभ्यास प्रवर्द्धन गर्ने लक्ष्य राखिएको बैंकले जनाएको छ।