चितवन।  नारायणगढ–मुग्लिन सडक खण्ड अन्तर्गत भरतपुर–२ दासढुंगामा रोकिराखेको तेल ट्याङ्करमा बस ठक्कर हुँदा १३ जना घाइते भएका छन्। घटना आज अपरान्ह ३:४० बजे भएको हो।वीरगञ्जबाट काठमाडौंतर्फ जाँदै गरेको ना ६ ख ७०३६ नम्बरको यात्रुबाहक बसले सडक किनारमा रोकी राखिएको ना ४ ख २५०३ नम्बरको तेल ट्याङ्करलाई ठक्कर दिएको थियो। दुर्घटनापछि बसमा सवार घाइतेहरूलाई तत्काल नेशनल सिटी अस्पताल, भरतपुरमा पठाइयो।

इलाका प्रहरी कार्यालय मुग्लिनका प्रमुख प्रतिक सिंहका अनुसार बस र ट्याङ्कर चालक फरार छन्। घटनास्थलमा दुवै सवारी साधन रोकिएको भए पनि सडक आवागमनमा अवरोध नभएको छ। उद्धार कार्यमा इलाका प्रहरी कार्यालय जुगेडीबाट प्रहरी निरीक्षक यम सापकोटाको कमाण्डमा टोली खटिएको थियो।

घाइतेमध्ये केही सामान्य, केही मध्यम र दुई जनाको अवस्था गम्भीर रहेको छ। घाइतेहरू चितवन र मकवानपुरका हुन्।