काठमाडौं, ११ फागुन। धादिङको बेनिघाट रोराङ गाउँपालिका–५ भैँसीगौडास्थित पृथ्वी लोकमार्गमा सोमबार बिहान करिब साढे १ बजे भएको बस दुर्घटनामा ज्यान गुमाएका १९ जनाकै सनाखत भएको छ।
जिल्ला प्रहरी कार्यालय धादिङका डीएसपी प्रकाश दाहालका अनुसार दिउँसो ९ जनाको सनाखत भएकोमा पछिल्लो समय थप १० जनाको पहिचान खुलेको हो।
पछिल्लो समय सनाखत हुनेमा तनहुँका ६३ वर्षीय रूद्रप्रसाद ढकाल, २० वर्षीया अर्चना पौडेल, कास्कीकी २१ वर्षीया अञ्जली क्षेत्री, २१ वर्षीय रोहित नेपाली, स्याङ्जाका ४५ वर्षीय घनश्याम सुवेदी, काठमाडौंकी ३३ वर्षीया अनिशा महर्जन, मोरङकी २७ वर्षीया हिरा चौधरी, कास्कीका २६ वर्षीय सुजित नेपाली, भारतका ३२ वर्षीय मनिष शुक्ला र चीनकी ४० वर्षीया झाड्ड चुनचन रहेका छन्।
यसअघि सनाखत हुनेमा पोखराका ४० वर्षीय विवेक बास्तोला, स्याङ्जाका ६३ वर्षीय चन्द्रबहादुर कुँवर, तनहुँका ४० वर्षीय ओमकुमार मल्ल, धादिङका ३० वर्षीय इन्जिनियर ठकुरी, तनहुँकी ५५ वर्षीया विष्णुमाया ढकाल, काठमाडौंका ४२ वर्षीय लोप्साङ गोले, तनहुँका ४५ वर्षीय हरिप्रसाद सिग्देल र पाल्पाका ५५ वर्षीय नविन्द्र श्रेष्ठ रहेका छन्। साथै २४ वर्षीय बेलायती नागरिक स्टिवर्ट डोमिनिक इथनको पनि मृत्यु भएको पुष्टि भएको छ।
पोखराबाट काठमाडौं आउँदै गरेको ग २ ख १४२१ नम्बरको बस अनियन्त्रित भई सडकबाट त्रिशूली नदी किनारमा खसेको थियो।
दुर्घटनामा घाइते भएका १४ जनाको काठमाडौंस्थित राष्ट्रिय ट्रमा सेन्टरमा उपचार भइरहेको छ। त्यस्तै १० जनाको कलंकीस्थित नेसनल मेडिकल कलेजमा र न्यूजिल्यान्डकी एक घाइते मेरी इभाडेको शिक्षण अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।








