काठमाडौं – प्रधानमन्त्रीका प्रमुख सल्लाहकारको नाम तथा पद दुरुपयोग गरी इजरायल पठाइदिने भन्दै २ करोड ५० लाख रुपैयाँ ठगी गरेको आरोपमा दुई जना पक्राउ परेका छन् ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)का अनुसार रामेछाप सुनापति गाउँपालिका–१ का ५९ वर्षीय भरत चौलागाईं र दोलखा कालिञ्चोक गाउँपालिका–८ की ३२ वर्षीया बालिका सिवाकोटी पक्राउ परेका हुन् ।
प्रहरीका अनुसार नेपाल र इजरायल सरकारबीच भएको ‘गभर्मेन्ट टु गभर्मेन्ट’ (जीटुजी) सम्झौताअन्तर्गत केयरगिभरका रूपमा इजरायल जान सन् २०२४ मा नेपाल सरकारले लिएको परीक्षामा उनीहरू सहभागी भएका थिए । तर, लक्की ड्रमार्फत छनोट हुन नसकेका परीक्षार्थीलाई लक्षित गरी उनीहरूले ठगी गरेको आरोप छ ।
सीआईबीमा परेको जाहेरीअनुसार भरत चौलागाईं र बालिका सिवाकोटीलगायत व्यक्तिले प्रधानमन्त्रीका प्रमुख सल्लाहकारको नाम तथा पदको दुरुपयोग गरी इजरायल पठाइदिने भन्दै पीडितहरूलाई विश्वासमा लिएका थिए ।
प्रहरीका अनुसार प्रतिव्यक्ति ६ लाख २० हजार रुपैयाँका दरले रकम लिइएको थियो । यसरी १५६ जनाबाट जम्मा २ करोड ५० लाख रुपैयाँ लिएको जाहेरीमा उल्लेख रहेको प्रहरीले जनाएको छ ।
इजरायल पठाइदिने भन्दै रकम लिएर विश्वासघात तथा ठगी गरेको भन्दै पीडितहरूले कानुनी कारबाहीको माग गर्दै सीआईबीमा जाहेरी दिएका थिए ।
जाहेरीका आधारमा अनुसन्धान अघि बढाएको प्रहरीले दुवै जनालाई असोज १ गते पक्राउ गरेको हो । पक्राउ परेका दुवै जनामाथि मुलुकी अपराध संहिता, २०७४ को परिच्छेद–२१ अन्तर्गत ठगीसम्बन्धी कसुरमा अनुसन्धान भइरहेको सीआईबीले जनाएको छ ।
उनीहरूलाई काठमाडौं जिल्ला अदालतबाट कानुनबमोजिम म्याद थप अनुमति लिएर थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।सीआईबीका अनुसार घटनामा संलग्न अन्य व्यक्तिहरूबारे समेत अनुसन्धान भइरहेको छ ।
प्रहरीले इजरायलमा रोजगारीका लागि जाने प्रक्रियामा सरकारी पदाधिकारी तथा उच्च अधिकारीको नाम प्रयोग गरी रकम असुल्ने गतिविधिबारे अनुसन्धान गरिरहेको जनाएको छ।






