काठमाडौं। चौधरी ग्रुपले सामाजिक सञ्जालमार्फत फैलाइएका भ्रामक सूचना तथा अफवाहविरुद्ध नेपाल प्रहरी साइबर ब्युरोमा उजुरी दर्ता गराएको छ।मंगलबार दर्ता गरिएको उजुरीमा ग्रुपले केही व्यक्ति तथा सामाजिक सञ्जाल पेजहरूले गलत, भ्रामक र अप्रमाणित सूचना प्रसारण गरी संस्थाका अध्यक्ष विनोद चौधरी को व्यक्तिगत तथा संस्थागत प्रतिष्ठामा आँच पुर्याउने उद्देश्यले गतिविधि सञ्चालन गरेको उल्लेख गरेको छ।
उजुरीअनुसार ‘सचेत खबर’ नामक फेसबुक पेजले बासबारी छाला जुत्ता कारखानाको जग्गासँग सम्बन्धित विषयमा अध्यक्ष चौधरीको नाम जोड्दै ‘चौधरी पक्राउ पर्दै’ भन्ने शीर्षकसहित भ्रामक सामग्री प्रकाशन गरेको आरोप लगाइएको छ। ग्रुपका अनुसार उक्त सामग्रीले जनमानसमा भ्रम सिर्जना गर्दै अध्यक्ष चौधरीको चरित्रहत्या गर्ने नियत राखेको देखिन्छ।लिंक तल राखिएको छ :
त्यस्तै, अर्जुन ज्ञावलीको ट्विटर (एक्स) अकाउन्टमार्फत ‘मसानघाटको ६० करोड मूल्य बराबरको सार्वजनिक जग्गा चौधरी ग्रुपको नाममा’ भन्ने दाबी गर्दै भ्रामक सन्देश सम्प्रेषण गरिएको जनाइएको छ। यस प्रकारको सामग्रीले अध्यक्ष चौधरीको व्यक्तिगत छवि र कम्पनीको प्रतिष्ठामा नकारात्मक असर पार्ने उद्देश्य राखेको ग्रुपको दाबी छ।

चौधरी ग्रुपले उक्त दुवै सामग्री पूर्ण रूपमा निराधार, तथ्यहीन र भ्रामक रहेको स्पष्ट पार्दै यस्ता आरोप प्रमाणित गर्न चुनौती दिएको छ। अन्यथा, यस्ता कार्यमा संलग्न व्यक्तिहरूमाथि कानुनअनुसार कडा कारबाही हुनुपर्ने माग उजुरीमा गरिएको छ।
ग्रुपले यस्ता गतिविधि विद्युतीय कारोबार ऐन अन्तर्गत गैरकानुनी भएको उल्लेख गर्दै दोषीमाथि आवश्यक अनुसन्धान गरी कानुन बमोजिम कडा कारबाही गर्न माग गरेको जनाएको छ।
साथै, ग्रुपले आफू सधैं निष्पक्ष पत्रकारिता, सत्यतथ्यमा आधारित सूचना प्रवाह तथा जिम्मेवार सञ्चार अभ्यासको पक्षमा रहेको स्पष्ट पारेको छ। भ्रामक सूचना, अफवाह र गलत प्रचारले समाजमा भ्रम, अविश्वास र असन्तुलन सिर्जना गर्ने भएकाले यस्ता कार्यलाई निरुत्साहित गर्न सबै सरोकारवाला पक्ष जिम्मेवार बन्नुपर्नेमा पनि जोड दिएको छ।
यसैबीच, साइबर ब्युरोले प्राप्त उजुरीमाथि आवश्यक अनुसन्धान प्रक्रिया अघि बढाइसकेको जानकारी दिएको छ।





