काठमाडौं । भारतको रिलायन्स इन्डस्ट्रिजले चौधरी ग्रुपसँगको सहकार्यमा अन्तर्राष्ट्रिय रूपमा लोकप्रिय भारतीय कोल्ड ड्रिंक ब्रान्ड क्याम्पा कोला नेपाली बजारमा ल्याएको छ ।
क्याम्पा कोला रिलायन्स इन्डस्ट्रिजको एफएमसिजी विंग रिलायन्स कन्ज्युमर प्रोडक्ट्स लिमिटेड (आरसिपिएल) ले उत्पादान गर्छ । क्याम्पा कोलाको नेपाल आगमनले रिलायन्सको चौधरी ग्रुपसँगको व्यावसायिक सम्बन्धको विस्तार तथा समग्र नेपालप्रतिको दीर्घकालीन प्रतिबद्धतालाई थप पुष्टि गर्ने रिलायन्सले जनाएको छ ।
‘चौधरी ग्रुपजस्तो प्रतिष्ठित साझेदारसँग मिलेर नेपालमा क्याम्पा ब्रान्ड ल्याउन पाउँदा हामी अत्यन्त उत्साहित छौँ,’ आरसिपिएलका कार्यकारी निर्देशक केतन मोदीले भने, ‘क्याम्पा कोला ५० वर्षभन्दा पुरानो ऐतिहासिक भारतीय ब्रान्ड हो, जसले धेरै पुस्तालाई जोड्ने भावनात्मक सन्देश दिन्छ । हामी नेपालमा दीर्घकालीन लगानीको सोचसहित आएका छौँ ।’
क्याम्पा कोला गल्फ कोअपरेसन काउन्सिल (जिसिसी) मुलुकहरूमा पहिल्यै स्थापित भइसकेको ब्रान्ड हो । अब नेपालमा पनि चौधरी ग्रुपले यसको स्थानीय उत्पादन र वितरण गर्नेछ । कम्पनीका अनुसार क्याम्पा पोर्टफोलियोअन्तर्गत क्याम्पा कोला, क्याम्पा लेमन, क्याम्पा अरेन्ज, क्याम्पा इनर्जी गोल्ड बुस्ट र क्याम्पा इनर्जी बेरी किक उपलब्ध हुनेछन् ।
रिलायन्सले क्याम्पा ब्राण्डलाई पहिलो चरणमा काठमाडौं उपत्यकासहितका प्रमुख सहरी क्षेत्रमा वितरण गर्ने लक्ष्य राखेको छ। २५० मिलिलिटर कार्बोनेटेड सफ्ट ड्रिंक (सिएसडी) बोतल (क्याम्पा कोला, क्याम्पा लेमन र क्याम्पा अरेन्ज)को उपभोक्ता मूल्य ३० रुपैयाँ रहेको छ । क्याम्पा २५० मिलिलिटर इनर्जी बेरी किकको मूल्य ४० रुपैयाँ छ ।
चौधरी ग्रुपका प्रबन्ध निर्देशक निर्वाण चौधरीले नेपालमा क्याम्पा कोला ल्याउन रिलायन्ससँग सहकार्य गर्नु चौधरी ग्रुप र समग्र देशका लागि गौरवको विषय रहेको बताए ।







