काठमाडौं। पूर्व–पश्चिम राजमार्ग अन्तर्गत नवलपुरको गैंडाकोट नगरपालिका–९ हनुमान मन्दिर नजिक आज बिहान भीषण सवारी दुर्घटना भएको छ। बस, ट्रक र हात्तीगाडी एकआपसमा ठोक्किँदा चालकसहित दर्जनभन्दा बढी व्यक्ति घाइते भएका छन्।

जिल्ला प्रहरी कार्यालय नवलपुरका सूचना अधिकारी एवं डीएसपी अनिल पण्डितका अनुसार बिहान करिब ६:४५ बजे नेपालगञ्जबाट काठमाडौंतर्फ आउँदै गरेको लुम्बिनी प्रदेश ०१–००१ ख ०९१० नम्बरको बसले विपरीत दिशाबाट जाँदै गरेको बागमती प्रदेश ०१–०२८ च ५००४ नम्बरको हात्तीगाडी र सोही दिशातर्फको बा ३ ख ३१६३ नम्बरको ट्रकलाई ठक्कर दिएको थियो।

दुर्घटनामा तीनवटै सवारीका चालक घाइते भएका छन्। घाइते हुनेहरूमा ट्रक चालक रामेछापका ३२ वर्षीय इन्द्र तामाङ, बस चालक बाँकेको नेपालगञ्ज उपमहानगरपालिका–२० बस्ने ४१ वर्षीय मोहनसिंह बलामी मगर र हात्तीगाडी चालक चितवनको भरतपुर महानगरपालिका–१२ बस्ने ३३ वर्षीय दर्शन काप्री रहेका छन्।

प्रहरीका अनुसार हात्तीगाडी चालक काप्रीको छातीमा चोट लागेको छ भने बस र ट्रक चालक दुवैको खुट्टामा चोट लागेको छ। उनीहरूको अवस्था मध्यम रहेको जनाइएको छ।

यसैगरी, बसमा सवार अन्य ८ देखि ९ जना यात्रुहरू पनि सामान्य घाइते भएका छन्। घाइते सबैलाई उपचारका लागि नजिकैका अस्पतालमा पठाइएको छ।

दुर्घटनामा मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ। घटनाको थप विवरण संकलन तथा अनुसन्धान कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ।