काठमाडौं । पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी ओलीलाई भर्चुअल माध्यमबाटै काठमाडौं जिल्ला अदालतमा उपस्थित गराइने भएको छ ।

महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालको कोठा नम्बर ५०१ मा भर्ना भएका उनलाई म्याद थपका लागि आइतबार अदालत लैजाने तयारी भएको थियो । तर स्वास्थ्य अवस्थाका कारण उनलाई अनलाइनबाटै म्याद थपको प्रक्रिया गरिने बताइएको छ ।

ओलीको मुटुको धडकन बढेको र पित्तथैलीमा २३ एमएमको पत्थरी रहेकाले असहज भएको बताइन्छ । शनिबार साँझ र आज बिहान उनको स्वास्थ्य परीक्षण गर्दा डुलाउनको साटो उनलाई अस्पतालमा राख्न चिकित्सकहरुले सुझाव दिएका थिए ।

पूर्वगृहमन्त्री रमेश लेखकलाई भने सरकारी वकिल कार्यालय हुँदै बयानका लागि काठमाडौं जिल्ला अदालत लगिएको छ । अहिले काठमाडौं जिल्ला अदालत, जिल्ला प्रहरी परिसर काठमाडौं आसपासका क्षेत्रमा ठूलो मात्रामा सुरक्षाकर्मी परिचालन गरिएको छ ।