काठमाडौं । नेपाली कांग्रेसका नेता एवं पूर्वऊर्जामन्त्री दीपक खड्कालाई प्रहरीले पक्राउ गरेको छ। सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दामा अनुसन्धान अघि बढाउने क्रममा उनलाई नियन्त्रणमा लिइएको स्रोतले जनाएको छ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) स्रोतका अनुसार खड्कालाई आवश्यक अनुसन्धानका लागि पक्राउ गरिएको हो। उनी हाल लैनचौरस्थित स्काउटको जग्गा विवादसँग जोडिएको प्रकरणमा मुछिएका छन्, जसले पछिल्लो समय थप चर्चा पाएको थियो।
उक्त विवादसँगै जेनजी आन्दोलनका क्रममा खड्काको निवासमा भएको आगजनीपछि सार्वजनिक भएको एक भिडियोले पनि प्रकरणलाई थप जटिल बनाएको छ। सो भिडियोमा आगलागीको क्रममा ठूलो परिमाणमा नगद जलेको वा उडेको देखिएको दाबी गरिएको थियो, जसबारे अहिले अनुसन्धान जारी छ।
स्रोतका अनुसार यही घटनासँग सम्बन्धित वित्तीय गतिविधि, सम्पत्तिको स्रोत र सम्भावित अवैध कारोबारबारे छानबिन भइरहेको छ। अनुसन्धान निकायले खड्कासँग सम्बन्धित कागजात, आर्थिक कारोबार र सम्पत्ति विवरणको अध्ययन गरिरहेको बताइएको छ।
प्रहरीले हालसम्म पक्राउबारे औपचारिक विस्तृत जानकारी सार्वजनिक नगरे पनि अनुसन्धान प्रक्रिया अगाडि बढाइएको पुष्टि गरेको छ।








