बाँके । बाँकेको जानकी गाउँपालिका–६, कपासीमा विद्युत् सर्ट भएर आगलागी हुँदा सात घर पूर्ण रूपमा जलेर नष्ट भएका छन्। आगलागीबाट अर्को एउटा पक्की घरको झ्यालमा समेत क्षति पुगेको प्रहरीले जनाएको छ।
बुधबार (कात्तिक ४ गते) दिउँसो करिब २ः२० बजे स्थानीय इद्दु खानको घरमा विद्युत् सर्ट भई आगलागी भएको सूचना प्रहरीले प्राप्त गरेको थियो। कोहलपुर नगरपालिका र नेपालगन्ज उपमहानगरपालिकाका दमकल घटनास्थलमा पुगेपछि अपराह्न ४ बजे आगो पूर्ण रूपमा नियन्त्रणमा लिइएको हो।
आगलागीबाट साबिर खान, इद्दु खान, फिरोज खान र जाबिर खानका खरले छाएका एकतले कच्ची घर पूर्ण रूपमा जलेका छन्। त्यस्तै, जाबेद खान, सरनाम खान र सौरभ खानका टिनले छाएका एकतले कच्ची घर पनि जलेर नष्ट भएका छन्।
स्थानीय महेश खानको पक्की घरको एउटा झ्यालमा समेत क्षति पुगेको प्रहरीले जनाएको छ। घटनामा मानवीय तथा चौपाया क्षति भने नभएको बताइएको छ।
आगलागीबाट भएको कुल क्षतिको विवरण खुल्न बाँकी छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।










