काठमाडौं। पर्वतारोहण क्षेत्रमा चर्चित ‘फेक रेस्क्यू’ प्रकरणमा संलग्न थप एक जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा सोलुखुम्बुको सोलु दूधकुण्ड नगरपालिका–१ स्थायी घर भएका ५० वर्षीय पासाङ शेर्पा रहेका छन्। उनी पानोरामा हिमालय ट्रेकिङ एण्ड एक्सपिडिसन प्रालिका सञ्चालक हुन्।
केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) का अनुसार हेलिकप्टर उद्धार उडान सञ्चालन गर्ने माउन्टेन रेस्क्यु सर्भिस प्रालि, एभरेस्ट एक्सपेरियन्स एण्ड असिस्टेन्स प्रालि र नेपाल चार्टर सर्भिस प्रालि पनि यस प्रकरणमा संलग्न रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।
प्रहरीका अनुसार ती कम्पनीहरूले नेपाल सरकार, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, नागरिक उड्डयन प्राधिकरण र विमानस्थलका अभिलेखमा हेरफेर गरी यात्रु तथा कार्गो मेनिफेस्ट फरक बनाउने, किर्ते विवरण तयार गर्ने र त्यसैका आधारमा बिल बनाउने गरेको आरोप छ।
अनुसन्धानका क्रममा उद्धार गरिएको भनिएका विदेशी पर्यटकलाई बीमा पोलिसीअनुसार काठमाडौंका विभिन्न अस्पतालमा उपचार गराएको देखाउन भर्ना तथा डिस्चार्ज रिपोर्ट, मेडिकल रिपोर्टलगायतका नक्कली कागजात तयार गरी बीमा रकम दाबी गरिएको पनि खुलेको छ।
प्रहरीले शेर्पालाई पक्राउ गरी मुलुकी अपराध संहिता, २०७४ को दफा ५१ तथा सङ्गठित अपराध निवारण ऐन, २०७० अन्तर्गत अनुसन्धान गरिरहेको जनाएको छ।
यस प्रकरणमा हालसम्म ट्रेकिङ कम्पनी, रेस्क्यु कम्पनी, अस्पताल, विदेशी बीमा कम्पनीका नेपालस्थित एजेन्ट तथा हेलिकप्टर कम्पनीका शेयरधनी सञ्चालकसमेत गरी कुल १० जनालाई पक्राउ गरिएको र थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।








