काठमाडौं । रास्वपा सभापति रवि लामिछाने पार्टीमा मन्त्री कसलाई बनाउने भन्ने विषयमा कुनै छलफल नै नभएको बताएका छन् । बुधबार ग्वार्कोस्थित होटेल रोयल टुलिपमा पुगेर उनले सांसदहरूलाई सम्बोधन गर्दै मन्त्री बन्न भन्दै घरघरमा नधाउन निर्देशन दिँदै अहिले यो मन्त्री त्यो मन्त्री भन्ने विषय आइरहेको भन्दै असन्तुष्टि जनाए ।
लामिछानेले मन्त्री बन्न दौडधुप गर्ने परिपाटी अन्त्य हुनैपर्ने बताए । ‘मन्त्री बन्न कहीँकतै दौडधुप नगर्नुहोला । यो पसल बन्द हुनैपर्छ । घरघर धाउनुपर्दैन । कसैँसँग फोटो खिच्ने काम नगर्नुहोला’, उनले भने । रविले पार्टीमा गुटबन्दी नगर्न पनि चेतावनी दिए । ‘गुट नबनाउनुहोला । गुट बनाएर कांग्रेस एमालेलाई जित्न सकिँदैन’, लामिछानेले भने, ‘मकेन्द्रित राजनीति नगरौँ । देशकेन्द्रित गरौँ ।’
लामिछानेले आफूहरु मिल्न नसके र स्वार्थको बन्दी बने समस्याहरु आउन सक्ने बताए । उनले भने, ‘नयाँ सरकार गठन नभईकन हामीमा फाटो ल्याउन विभिन्न समूहको विगबिगी छ ।’ उनले पार्टीका सांसदहरुलाई पुराना दलहरुबाट टाढा बस्न आग्रह गरे । नवनिर्वाचित सांसदहरुलाई जथाभावी गलत अभिव्यक्तिहरु नदिन आग्रह गर्दै यस्तो छुट रास्वपाका सांसदहरुलाई नभएको पनि बताए ।
लामिछानेले मतदाताले दिएको प्रत्येक मतको इज्जत हुनुपर्ने बताउँदै यसलाई सम्मान गर्न सांसदहरुलाई आग्रह गरे । उनले भने, ‘जुन आशा र अपेक्षाका साथ मतदाताले हामीलाई जिताउनु भएको छ, यसको जिम्मेवारीवोध तपाईहरुमा हुनुपर्छ ।’ उनले निर्वाचित सबैलाई सकेसम्म सरकारी अस्पतालमा उपचार गराउनसमेत आग्रह गरेका छन् । उनले कुन धाराले कहाँ के काम अड्किएको छ भनेर निर्वाचितहरूले थाहा पाउनुपर्ने बताउँदै भने, ‘कहाँ कसलाई भनेर हुन्छ भनेर दौडधुप नगर्नु होला ।’ उनले कुनै बहाना गर्न नपाउने गरी जनताले आफूहरूलाई जिताएर पठाएको भन्दै आफूहरू सचेत हुनुपर्ने बताएका छन् ।
लामिछानेले पार्टीभित्र अनुशासन उल्लंघन गर्ने सांसदहरूलाई फिर्ता बोलाउने चेतावनी दिएका छन्। उनले जिम्मेवारीसाथ र अनुशासनपूर्वक व्यवहार गर्नुपर्नेमा जोड दिएका छन्।
सभापति लामिछानेका अनुसार पार्टी ठुलो र सरकार सञ्चालनमा रहेको अवस्थामा हरेक सांसदले आफ्नो भूमिका सतर्कतापूर्वक निभाउनु आवश्यक छ। पार्टीको विधानको दफा ६९ ले जनप्रतिनिधिलाई फिर्ता बोलाउने अधिकार व्यवस्था गरेको छ। लामिछानेले सांसदहरूको व्यक्तिगत स्वतन्त्रता हुने, तर पार्टी अनुशासन कायम रहनुपर्ने स्पष्ट पारेका छन्।








