काठमाडौं । उदयपुरको कटारीमा सुरक्षाकर्मीले बोकेको हतियारबाट गोली पड्किँदा मतपेटिकामा क्षति पुगेको छ।
कटारी नगरपालिका–३ स्थित तरकारी तथा फलफूल बजार बिक्री केन्द्र तावाखोला (ख) मतदान केन्द्रमा सुरक्षाकर्मीले बोकेको सर्टगनबाट गोली पड्किएको हो। इलाका प्रहरी कार्यालय सुन्दरपुर दरबन्दी भई अस्थायी प्रहरी पोस्ट चुहाडेमा कार्यरत एक प्रहरी जवानले बोकेको हतियारबाट उक्त घटना भएको प्रहरीले जनाएको छ।
गोली पड्किँदा मतदान केन्द्रमा राखिएको मतपेटिकामा क्षति पुगेको छ। सो मतपेटिकामा त्यसबेला चार वटा मत खसेको थियो। यद्यपि मतपत्रमा भने कुनै क्षति नभएको प्रहरीले जानकारी दिएको छ।
घटनापछि क्षतिग्रस्त मतपेटिकालाई हटाएर अर्को मतपेटिका राखिएको छ र अहिले मतदान प्रक्रिया पुनः सञ्चालनमा आएको छ।
कोशी प्रदेशका डीआईजी विनोद घिमिरेका अनुसार सुरक्षाकर्मी लड्दा हतियार पड्किएको प्रारम्भिक जानकारी प्राप्त भएको छ। घटना बारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।






