विराटनगर। कर्जा सूचना केन्द्रको कालोसूचीमा रहेका उम्मेदवारले उदयपुर क्षेत्र नम्बर–२ बाट प्रतिनिधिसभा सदस्यमा विजय हासिल गरेका छन्। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार सूर्यबहादुर तामाङ कालोसूचीमा रहँदा पनि निर्वाचन जित्न सफल भएका हुन्।

तामाङले १४ हजार ८०२ मत प्राप्त गर्दै विजयी भएका छन्। उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका अम्बरबहादुर रायामाझीले ७ हजार ६४८ मत प्राप्त गरेका छन् भने नेपाली कांग्रेसका उम्मेदवार रामकुमार राईले ७ हजार २९० मत पाएका छन्।

ADVERTISEMENT

रास्वपाले उदयपुरको कटारी बजारमा व्यवसाय गर्दै आएका कटारी नगरपालिका–७ मर्जेतपुरका पर्यटन व्यवसायी तामाङलाई उम्मेदवार बनाएको थियो। उनी कर्जा सूचना केन्द्रको कालोसूचीमा रहेको जानकारी पार्टीभित्र रहे पनि औपचारिक रूपमा बाहिर आएको थिएन। विजयी भएपछि मात्र उक्त विषय सार्वजनिक भएको हो।

कर्जा सूचना केन्द्रको विवरण अनुसार मकालु कान्जिरुवा अटो लिङ्क प्रालिबाट काटिएका विभिन्न चेक बाउन्स भएपछि सञ्चालकका रूपमा तामाङ कालोसूचीमा परेका हुन्। कम्पनीले विभिन्न व्यक्तिका नाममा काटेका लाखौँदेखि करोडौँ रुपैयाँसम्मका चेक नसाटिएपछि उनको नाम पटकपटक कालोसूचीमा समावेश भएको देखिन्छ।

ADVERTISEMENT

यसअघि धनुषा–१ मा पनि कालोसूचीमा परेका उम्मेदवार किशोरी साह कमलको उम्मेदवारी निर्वाचन आयोगले मतदान हुनुभन्दा दुई दिनअघि खारेज गरेको थियो।प्रदेश निर्वाचन कार्यालय विराटनगरका प्रमुख चोलाराज दंगालका अनुसार निर्वाचन परिणाम घोषणा भइसकेपछि कालोसूचीको विषयमा आयोगले थप कारबाही गर्न नमिल्ने अवस्था रहेको छ। यदि कसैले आपत्ति जनाएमा सम्बन्धित पक्ष अदालत जान सक्ने उनले बताएका छन्।