काठमाडौँ । आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि हुम्लामा तोकिएका ६४ मतदान केन्द्रमध्ये १५ केन्द्रमा तीन सयभन्दा कम मतदाता रहेको तथ्य सार्वजनिक भएको छ। जिल्ला निर्वाचन कार्यालयका अनुसार जिल्लाभर कुल ३४ हजार ३७२ मतदाता रहेका छन्।

जिल्ला निर्वाचन अधिकारी भीमबहादुर रोकायाले जानकारी दिएअनुसार सबैभन्दा कम मतदाता ताँजाकोट गाउँपालिका–३ स्थित बानादेव आधारभूत विद्यालयमा छन्, जहाँ जम्मा ५४ जना मतदाता मात्रै रहेका छन्। उक्त स्थान गाउँपालिकाको केन्द्रबाट पैदल एक दिनको दूरीमा पर्छ र त्यहाँसम्म सडक सञ्जाल पुगेको छैन।

सर्केगाड गाउँपालिकामा पनि ३०० भन्दा कम मतदाता भएका तीन मतदान केन्द्र छन्। देबल आधारभूत विद्यालय तुम्चमा २४०, धुमचुली आधारभूत विद्यालय कल्लासमा २१६ र नीलकण्ठ प्रावि फुचामा २८८ मतदाता रहेको कार्यालयले जनाएको छ।

ADVERTISEMENT

चङ्खेली गाउँपालिकाका तीन मतदान केन्द्रमा पनि मतदाता संख्या न्यून छ। डाँफे आधारभूत विद्यालय नेप्कामा २४२ मतदाता छन् भने रारा आधारभूत विद्यालय मेखालामा १४३ र रामशाह आधारभूत विद्यालय पिपलाङमा २१२ मतदाता रहेका छन्। यीमध्ये केही स्थानमा पुग्न अझै पनि गाउँपालिकाको केन्द्रबाट एक दिन पैदल यात्रा गर्नुपर्ने अवस्था छ।

ADVERTISEMENT

उत्तरी क्षेत्रमा पर्ने नाम्खा गाउँपालिकाका आठ मतदान केन्द्रमा समेत ३०० भन्दा कम मतदाता छन्। हिमशिखर प्रावि तिलगाउँमा १३२, भृकुटी प्रावि जाँङगाउँमा २४७ र सुनखानी प्रावि हल्जीमा २९३ मतदाता रहेका छन्। तर हाल ती गाउँका अधिकांश मतदाता जिल्ला सदरमुकाम वा अन्य सहरतिर बसोबास गरिरहेको बताइएको छ।

ADVERTISEMENT

अरनिको प्रावि यारी (१९५), खासरपानी प्रावि मुचु (२३४), हिमालय प्रावि चाला (१५९), महाबौद्ध मावि याल्वाङ (२८०) र नमोडोछोमु प्रावि ताङ्घीन (१५९) मा पनि मतदाता संख्या न्यून रहेको छ। यी क्षेत्रमा अहिले भारी हिमपातका कारण अधिकांश मतदान केन्द्र हिउँले ढाकिएका छन्। मुख्य निर्वाचन अधिकृत नीलकण्ठ बरालका अनुसार यारी र न्यालुको लेक क्षेत्रमा बाक्लो हिउँ परेकाले आवतजावतमा कठिनाइ भइरहेको छ। स्काभेटर प्रयोग गरी हिउँ पन्छाउने प्रयास भइरहे पनि अवस्था चुनौतीपूर्ण रहेको उनले बताए।

यसैबीच, सबैभन्दा धेरै मतदाता रहेको केन्द्र खार्पुनाथ गाउँपालिकाको मालिका माध्यमिक विद्यालय लालिमा हो, जहाँ १ हजार ६३ मतदाता छन्। त्यसपछि मष्टादेव आधारभूत विद्यालय अदानचुलीमा ९७७ र कोट मावि रोडीकोटमा ९३६ मतदाता रहेका छन्।

भौगोलिक विकटता र मौसमीय चुनौतीबीच निर्वाचन व्यवस्थापन हुम्लामा कठिन बन्दै गएको देखिन्छ।