काठमाडौ । साताको दोस्रो कारोबार दिन सोमबार नेप्से परिसूचक सामान्य बढेको छ। पछिल्ला तीन कारोबार दिनदेखि घटिरहेको नेप्से आज झिनो अंक बढेर बन्द भएको हो।
नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक २.४१ अंक बढेर २६१६.९७ विन्दुमा कायम छ। नेप्से बढे पनि कारोबार रकम भने घटेको छ। १३ उपसमूहमध्ये ६ उपसमूहको परिसूचक बढेको छ भने ७ उपसमूहको परिसूचक घटेको छ।
आइतबार ६ अर्ब ६९ करोड रुपैयाँबराबरको सेयर खरिदबिक्री भएको थियो । आज ३२९ स्टकको ५६ हजार ३४७ पटकको कारोबारमा पाँच अर्ब १३ करोड ८६ लाख ४९ हजार रुपैयाँबरारबको एक करोड २६ लाख २१ हजार कित्ता सेयर खरिदबिक्री भएको छ।
कारोबार रकमका आधारमा आँखु खोला जलविद्युत कम्पनीको ३६ करोड २ लाख रुपैयाँबराबरको सेयर खरिदबिक्री भएको छ। रिडी पावर डेभलपमेन्टको ३२ करोड र एसवाई प्यानल नेपालको कारोबार रकम साढे २८ करोड रुपैयाँको कारोबार भएको छ।
सालपा विकास बैंकको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। सो बैंकको सेयरमूल्य ३९ रुपैयाँ ९० पैसा बढेर ४३९ रुपैयाँ २० पैसामा अन्तिम कारोबार भएको छ। रिलायन्स स्पिनिङ मिल्सको सेयरमूल्य करिब साढे ९ प्रतिशत बढेको छ । मेगा म्युचुअल फण्ड १ र सपोर्ट माइक्रोफाइनान्स वित्तीय संस्थाको सेयरमूल्य ६ प्रतिशतभन्दा बढी बढेको छ।





