काठमाडौं । एमाले अध्यक्ष केपी ओलीले आगामी फागुन २१ को निर्वाचनलाई देश बनाउने र देश जलाउने शक्तिहरूबीचको लडाइँ भएको बताएका छन् ।
झापामा आइतबार आयोजित चुनावी सभामा उनले देशको सार्वभौमसत्ता, विकास र समृद्धिका लागि एमालेले जित्नैपर्ने दाबी गरे। उनले एमाले ५०–६० वर्षदेखि निरन्तर आन्दोलनमा रहेको र देशको भविष्य यसै पार्टीसँग सुरक्षित रहेको बताए।
ओलीले निर्वाचन रोक्ने र बिथोल्ने प्रयासहरू भइरहेको भन्दै आपत्ति जनाए। ‘अहिले पनि निर्वाचन रोक्ने प्रयास भइरहेका छन्, तर हामी नअल्मलिकन विजयको तयारीमा लाग्छौं,’ उनले भने।
विपक्षी दलहरूले एमालेको झण्डा जलाउने र अवाञ्छित क्रियाकलाप गरेर निर्वाचनको वातावरण बिगार्न खोजेको आरोप लगाउँदै उनले झण्डाको अपमान गर्नु निर्वाचन विरूद्धको अपराध भएको बताए।
ओलीले हुलाकी राजमार्गको निर्माण, ज्येष्ठ नागरिक भत्ता ४ हजार पुर्याएको, साक्षरता प्रतिशतमा वृद्धि, र एकैपटक ३९६ वटा आधारभूत अस्पतालको शिलान्यास गरेको स्मरण गराए।
देशको माया गरेको र भ्रष्टाचार नगरेकै कारण आफू निशानामा परेको उनले दाबी गरे । ‘मैले ६० वर्षको राजनीतिक जीवनमा कहिल्यै भ्रष्टाचार गरिनँ र गर्ने पनि छैन,’ उनले भने, ‘‘मिचिएको भूभाग फिर्ता ल्याउन थालेको र उत्तरतर्फका नाकाहरू खोलेका कारण ममाथि प्रहार भइरहेको छ।’
ओलीले आफ्नो नेतृत्वमा मिचिएको भूभाग फिर्ता ल्याउने, उत्तरी नाका खोल्ने र दक्षिणमा हुलाकी राजमार्ग निर्माण गरी मधेसको अर्थतन्त्र उकास्ने कार्य भएको स्मरण गराए । उनले राष्ट्रिय स्वतन्त्र पार्टीका नेता बालेन्द्र साहलाई लक्षित गर्दै एउटा पालिका समेत प्रभावकारी रूपमा नचलाउनेहरूलाई देश चलाउने जिम्मेवारी दिन नसकिने बताए ।
देश कुनै प्रयोगशाला वा मजाकको विषय नभएको भन्दै सफल र सक्षम शक्तिलाई छाडेर असफल तथा अज्ञात व्यक्तिलाई भोट दिने भाष्य निर्माण गर्न खोजिएकोप्रति असन्तुष्टि व्यक्त गरे । एमाले मात्रै देशको सार्वभौमसत्ता, भौगोलिक अखण्डता र स्वाधीनताको रक्षा गर्न सक्षम पार्टी भएको दाबी गर्दै उनले एमाले रहुन्जेल यी कुरामा कुनै सम्झौता नहुने स्पष्ट पारे ।






