काठमाडौं । एमालेका अध्यक्ष केपी ओलीले सम्पादकहरूलाई बोलाएर उनीहरूकै हुर्मत लिएका छन् । प्रेस चौतारीको आयोजनामा ओलीसँग सम्पादकहरूको संवाद राखिएको हो । कार्यक्रममा पटकपटक सम्पादकहरूमाथि नै उनले प्रहार गरे ।

आफूलाई जनता र पार्टीले अध्यक्ष बनाए पनि सम्पादकहरूले मात्रै राजीनामा मागेको भन्दै आक्रोश पोखे । ओलीले अहिलेको अवस्था ल्याउन सम्पादकहरूले चाहिँ माफी माग्नुपर्दैन भन्दै प्रहार गरे ।

यत्रो घटना हुँदा पनि ओलीमा अझै दम्भ र अहंकार रहेको भन्ने सम्पादकहरूलाई लाग्दै होला भन्दै झटारो हाने ।

ओलीले आफ्नो सम्पत्ति छानबिन भइरहेको समाचारप्रति अनभिज्ञता प्रकट गर्दै त्यसमा पारदर्शिता देखाउन पत्रकारलाई नै निम्तो दिए । ‘मेरो सम्पत्ति छानबिन गर्न आयोग चाहिँदैन,’ उनले भने, ‘तपाईंहरू (सम्पादक) आफैं गर्नुस्, नेपाल पत्रकार महासंघले गर्न सक्छ, सम्पादक मण्डलले गर्न सक्छ। मेरो घर जलेको खरानीको कण–कण हिसाब गरेर छानबिन गर्नुस्।’

आफूले मात्रै देशको चिन्ता लिएर दुःख पाउनुपरेको बताए । उनले आफूभन्दा धेरै आयु भएका व्यक्तिहरूले देशको बारेमा चिन्ता लिनुपर्ने बताए । आफू ७३ वर्ष उमेरको भइसकेको भन्दै आफैंले मात्रै दुःख पाउनुपर्ने ? भन्दै उनले प्रश्न गरे ।

‘देश मेरोमात्रै होइन नि त । म ७३ त पूरा भइसकेँ । मैले मात्रै दुःख पाउने ? मैले भन्दा धेरै बाँच्नुपर्ने मान्छे नेपालमा थुप्रै छन्,’ ओलीले भने, ‘देशको बारेमा उनले मेरोभन्दा बढी सोच्नुपर्ने हो । मसँग किन रिस उठेको हो थाहा छैन । मैले भ्रष्टाचार गरिनँ ।’ उनले नेपालमा राजनीतिक दल र नेताहरूप्रति घृणा भएको स्वीकार गरे ।

‘नेपालमा पनि पोलिटिक्स, पोलिटिकल पार्टी र लिडरसँग घृणा छ,’ उनले भने, ‘अनुभव नै नभएका छन् । यो ओलम्पिकमा सेलेक्सन किन गर्नुपर्‍यो ? जेनजी पठाऔं न । उहाँहरू सेलेक्सन मान्न त गाह्रो हुन्छ ।’

ओलीले आफूले जेनजीका असली अगुवासित छलफल गरेको बताउँदै सुशीला कार्कीलाई प्रधानमन्त्री बनाउन माग नगरेको दाबी गरेका छन् । उनले जेनजी आन्दोलनमा घूसपैठ भएको र त्यसपछिका घटनाक्रमहरूमा असली जेनजीहरूलाई धोका भएको दाबी गरेका हुन् ।

‘२४ गतेको विध्वंश असली जेनजीले गरेका थिएनन्’, उनले भने,‘‘मैले असली जेनजीका अगुवासित कुरा गरेको छु । उनीहरूले मसँग भनेका छन्– सिंहदरबार जलाउने, नेताका घर खोजीखोजी जलाउने हाम्रो योजना थिएन । ७४ वर्षकी हजुरआमालाई प्रधानमन्त्री बनाउने पनि हाम्रो माग थिएन ।’

उनले जेनजी आन्दोलनमा षडयन्त्र भएको दोहोर्‍याए । ‘अगुल्टो लुकाउन सकिएला तर धुवाँ लुकाउन सकिँदैन’, ओलीले भने, ‘सधैं यस्तो हुँदैन । एकदिन यसमा कारबाही हुन्छ ।’
आफूले भ्रष्टाचार गरेको पुष्टि गरेर देखाउन ओलीले चुनौती पनि दिए ।

उनले आफ्नो खातामा २०–२५ लाख रुपैयाँजति मात्र रहेको बताए । ओलीले आफू सम्पत्ति छानबिनका लागि तयार रहेको स्पष्ट पारे । उनले भने, ‘मेरो सम्पत्ति छानबिन गर्न आयोग नै चाहिँदैन । एउटा घर थियो, त्यो जलिसक्यो । त्यसबाहेक मसँग अरु केही छैन । बैंकमा २०–२५ लाखजति होला । त्यो पैसा पनि मेरो सांसद, मन्त्री हुँदाको तलब हो, हिसाब होस्, म तयार छु ।’

पूर्वप्रधानमन्त्री ओलीले आफूले नेपो बेबी स्वीकार नगर्ने बताए। उनले त्यो स्वीकार नगर्दा अहंकार नहुनेसमेत उल्लेख गरे। ‘म नेपो बेबीलाई स्वीकार गर्दिनँ,यो अहंकार होइन,’ ओलीले भने, ‘केको नेपो बेबी ? नेपो बेबीको कुरा गर्दा बच्चालाई त्रास छ।’