काठमाडौँ । राष्ट्रियसभाको आज बस्ने बैठकमा प्रधानमन्त्री तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री सुशीला कार्कीले ‘सामाजिक सञ्जाल विधेयक, २०८१ फिर्ता गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यक्रम रहेको छ।

गत मङ्गलबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त विधेयक सङ्घीय संसद्बाट फिर्ता लिने निर्णय गर्दै त्यसका लागि स्वीकृति प्रदान गरेको थियो। राष्ट्रियसभाको १७ औँ अधिवेशनमा दर्ता भएको यो विधेयक हाल विधायन व्यवस्थापन समितिमा विचाराधीन अवस्थामा रहेको थियो।

संसद् सचिवालयका अनुसार आजको सम्भावित कार्यसूचीमा प्रधानमन्त्री कार्कीले ‘राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) विधेयक, २०८१ पारित गरियोस्’ भन्ने प्रस्ताव पनि पेश गर्नेछिन्। त्यसअघि उनले विधायन व्यवस्थापन समितिको प्रतिवेदनसहित सो विधेयकमाथि छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यक्रम छ।

यस्तै, बैठकमा सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिका सभापति मायाप्रसाद शर्माले ‘राष्ट्रिय निकुञ्जसँग सम्बन्धित नीतिगत समस्यासम्बन्धी समितिको अध्ययन प्रतिवेदन, २०८२’ माथि छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ।

राष्ट्रियसभाको बैठक आज अपराह्न १ः१५ बजे बस्ने तय भएको छ। यसैबीच, राष्ट्रियसभा विधायन व्यवस्थापन समितिको बैठक आज बिहान ११ः०० बजे बस्दैछ। समितिको बैठकमा अभौतिक सांस्कृतिक सम्पदा (संरक्षण) विधेयक, २०८१ माथि दफावार छलफल हुने जानकारी समिति सभापति तुलसाकुमारी दाहालले दिएकी छन्।