काठमाडौँ प्रधानमन्त्री सुशीला कार्कीले तोकिएकै मितिमा प्रतिनिधिसभा निर्वाचन हुनेमा ढुक्क रहन सबैलाई आग्रह गरेकी छिन्। बिहीबार मतपत्र छपाइ भइरहेको जनक शिक्षा सामग्री केन्द्रको प्रेस अनुगमनपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले निर्वाचन एकै चरणमा र एकै दिन सम्पन्न हुने स्पष्ट पारिन्।

प्रधानमन्त्री कार्कीले निर्वाचनका विषयमा कुनै अन्योल नरहेको बताउँदै नागरिकलाई निश्चिन्त हुन आग्रह गरिन्। “ढुक्क र निश्चिन्त हुनुस्। एकैदिनमा चुनाव हुन्छ। दुई पटक हुनेवाला छैन। तोकिएकै मितिमा हुन्छ,” उनले भनिन्।

ADVERTISEMENT

निर्वाचनको समयमा देशका सबै भूगोलमा मौसम पनि अनुकूल रहने विश्वास व्यक्त गर्दै उनले सबै मतदाताले कुनै अवरोधबिना मतदान गर्न पाउने वातावरण बनाइने बताइन्। निर्वाचन सम्पन्न भएपछि निर्वाचित प्रतिनिधिसभालाई सरकारको जिम्मेवारी हस्तान्तरण गरी वर्तमान सरकार घर फर्किने पनि उनले स्पष्ट पारिन्।

ADVERTISEMENT

प्रधानमन्त्री कार्कीले निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न निर्वाचन आयोग र आयुक्तहरूको भूमिका प्रशंसनीय रहेको उल्लेख गर्दै धन्यवादसमेत व्यक्त गरिन्।