काठमाडौँ। ललितपुरको कोन्ज्योसोम गाउँपालिका–४ नल्लुमा वामपन्थी राजनीतिमा सक्रिय चार जना नेता नेपाली कांग्रेसमा प्रवेश गरेका छन्। लामो समय कम्युनिस्ट दलहरूमा क्रियाशील रहँदै आएका उनीहरूको सामूहिक प्रवेशले स्थानीय राजनीति तरंगित बनेको छ।

कांग्रेस प्रवेश गर्नेहरूमा नेपाल कम्युनिस्ट पार्टीका पूर्व वडा कमिटी अध्यक्ष शेरबहादुर स्याङ्तान, नेकपा एमालेका पूर्व वडा कमिटी अध्यक्ष प्रताप स्याङ्तान तथा नेकपा माओवादीका सक्रिय सदस्य साईला स्याङ्तान र राजु स्याङ्तान रहेका छन्। उनीहरूलाई नेपाली कांग्रेसका सहमहामन्त्री एवं ललितपुर क्षेत्र नम्बर १ का उम्मेदवार उदय शम्शेर राणाले पार्टीमा स्वागत गरेका हुन्।

ADVERTISEMENT

पार्टी प्रवेशपछि नेताहरूले वामपन्थी दलहरूभित्र साङ्गठनिक विचलन बढ्दै गएको र जनताप्रतिको उत्तरदायित्व कमजोर हुँदै गएकाले वैकल्पिक राजनीतिक धार रोज्नुपरेको बताएका छन्। उनीहरूको भनाइमा कांग्रेसको लोकतान्त्रिक अभ्यास, विकासमुखी सोच र जनतासँग प्रत्यक्ष जोडिने कार्यशैलीले आफूहरूलाई आकर्षित गरेको हो।

कार्यक्रममा बोल्दै नेता राणाले नल्लुसहित समग्र कोन्ज्योसोम क्षेत्रको विकास र समृद्धिमा कांग्रेस प्रतिबद्ध रहेको स्पष्ट पारे। अनुभवी नेताहरूको आगमनले पार्टी थप सशक्त बनेको र यसले आगामी निर्वाचनको समीकरणमा समेत दीर्घकालीन प्रभाव पार्ने उहाँको दाबी छ।

स्थानीय राजनीतिक विश्लेषकका अनुसार एमाले र माओवादीका पूर्व वडा अध्यक्षस्तरका नेताहरूको सामूहिक पार्टी परिवर्तनले कोन्ज्योसोममा वामपन्थी प्रभाव कमजोर बन्दै गएको संकेत गरेको छ। यसले कांग्रेसको साङ्गठनिक आधार विस्तार हुनुका साथै क्षेत्रको शक्ति सन्तुलनमा महत्वपूर्ण परिवर्तन ल्याउने अपेक्षा गरिएको छ।