काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टी (एमाले) का महासचिव शङ्कर पोखरेलले राजनीतिलाई नयाँ र पुराना दल तथा पुस्ताका आधारमा विभाजन गर्नु उपयुक्त नहुने बताएका छन्। उनले नेपाली समाजको चरित्र विभाजनभन्दा पनि मिलनसारिता, सहकार्य र संवादमा आधारित रहेको उल्लेख गरे।
आशन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको सन्दर्भमा प्रेस चौतारी नेपालद्वारा आज काठमाडौँमा आयोजित छलफल कार्यक्रममा बोल्दै महासचिव पोखरेलले मतदातालाई विकास र समृद्धिको एजेन्डामा केन्द्रित गर्न सक्नुपर्ने आवश्यकता औँल्याए। उनले कुनै एक पुस्ताको नाममा समाजलाई विभाजन गर्ने प्रवृत्ति नेपाली सामाजिक संरचनासँग मेल नखाने बताए।
महासचिव पोखरेलले निर्वाचनलाई लोकतन्त्रको महत्वपूर्ण अभ्यास र नीतिगत बहसको अवसरका रूपमा लिनुपर्ने धारणा राख्दै नीतिका आधारमा एमाले जनताको विश्वास जित्न सफल हुने विश्वास व्यक्त गरे। उनले आगामी निर्वाचनमा पार्टी पहिलो नम्बरमा आउने अपेक्षा रहेको पनि बताए।






